ज्ञानुको `संवेदनाको समायोग´माथि गैंडाकोटमा अन्तरसंवाद

सम्पूर्ण किताब नारायणगढको आयोजनामा द नारायणी रिसोर्ट गैंडाकोटमा शुक्रबार गरिएको कार्यक्रममा समालोचकीय टिप्पणी सहित पाठक प्रतिक्रिया पनि लिइएको थियो ।

Nov 11, 2023 - 00:41
Nov 11, 2023 - 00:43
 0  28
ज्ञानुको `संवेदनाको समायोग´माथि गैंडाकोटमा अन्तरसंवाद

गैंडाकोट, २५ कात्तिक ,काव्य घर /निबन्धकार ज्ञानु अधिकारीको निबन्धसङ्ग्रह `संवेदनाको समायोग´ माथि अन्तरसंवाद गरिएको छ । सम्पूर्ण किताब नारायणगढको आयोजनामा द नारायणी रिसोर्ट गैंडाकोटमा शुक्रबार गरिएको कार्यक्रममा समालोचकीय टिप्पणी सहित पाठक प्रतिक्रिया पनि लिइएको थियो ।

 

अन्तरसंवाद कार्यक्रममा पुस्तकमाथि सुरेन्द्र अस्तफलले समालोचना गरेका थिए । `संवेदनाको समायोग वैयक्तिक अनुभूतिको कोलाज हो ! यस सङ्ग्रहभित्र निबन्ध , संस्मरण र यात्रा संस्मरण समेटिएका छन्´, अस्तफलले भने – `ज्ञानुले ती निबन्धका भेद उपभेदलाई निबन्धकै रूपमा प्रस्तुत गरेकी छन् ।´ सङ्ग्रहका निबन्धमा काव्यात्मक अभिव्यक्ति र निबन्धको आख्यानीकरण पाइने अस्तफलले बताए । `सातवटा उपखण्डमा समाविष्ट ३७ वटा निबन्धहरू भाषा र अनुभूतिका दृष्टिले सबल छन् । नेपाली निबन्ध परम्परामा यो एउटा बलियो प्राप्ति हो ।´, अस्तफलले भने ।

 

कृतिमा यात्रा संस्मरणका रूपमा आएका निबन्धहरू राखिएको बताउँदै अस्तफलले यस्ता निबन्धमा निबन्धकारले तथ्य र विवरण भने लुकाएको दाबी गरे । `यात्रा संस्मरणका स्वरुपमा लेखिएका निबन्धमा तथ्य र विवरण छैनन् ।

आत्मपरक शैलीमा आफ्ना निजी यथार्थ विशेषत : प्रेमविषयको प्रकटीकरणमा यथार्थ भाव लुकाई कौतूहलपूर्ण भाषाको प्रयोग गरेकी छन् ।´, अस्तफलले भने । टिप्पणीकार डाक्टर एकनारायण पौड्यालले कृति आउनु अगाडि पाण्डुलिपिमाथि पनि छलफल चलाउन सके कृतिमा देखिने प्राविधिक दोषलाई पहिल्यै सच्याउन सकिने बताए । अर्का टिप्पणीकार सामना पहाडले ज्ञानुका निबन्ध काव्यिक भएकोले पाठकलाई मनपर्ने बताइन् ।

 

सङ्ग्रहमाथि शान्ति शर्मा, लक्ष्मी बराल, गायत्री अधिकारी, गणेश श्रमण, टीकाराम रेग्मी, युवराज भुसाल, रामजी अर्याल, धनराज गिरी, उदय अधिकारी र एलबी क्षेत्रीले टिप्पणी राखेका थिए । टिप्पणी सुनिसकेपछि निबन्धकार ज्ञानुले निबन्ध लेखनमा आफूले केही प्रयोग गरेको पनि बताइन् । पाठकलाई फरक किसिमको स्वाद दिन आफूले निबन्ध लेखेको उनले बताइन् । पाठकका माझमा उभिएर सोझै संवाद गर्न पाउँदा खुसी लागेको पनि उनले बताइन् । शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ४५० रुपैयाँ छ । कार्यक्रमलाई सम्पूर्ण किताबका लेखराम सापकोटाले सहजीकरण गरेका थिए

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि