राष्ट्रपति रामचन्द्र पौडेलले बोलेको अर्धसत्य -अभय श्रेष्ठ

जघन्य हत्यारा रिगलको कैद छुट्टीमा मन्त्री परिषद भन्दा बढी दोषी राष्ट्रपति रामचन्द्र पौडेल रहेछन् । चेतन मानन्धरकी पत्नी भारती शेर्पाको आँसु कमजोर थोपा होइन, त्यसले आगो सल्काउन सक्छ भन्ने राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञात होस् र अदालतले निर्णय उल्ट्याउनुअघि नै यसलाई फिर्ता लिइयोस् । समयले कसैलाई पर्खंदैन ।

Oct 13, 2023 - 08:48
 0  21
राष्ट्रपति रामचन्द्र पौडेलले बोलेको अर्धसत्य -अभय श्रेष्ठ
जघन्य हत्यारा रिगल भनिने योगराज ढकालको कैद छुटमा राष्ट्रपति रामचन्द्र पौडेल दोषी हुन् कि सिफारिस गर्ने मन्त्रिपरिषद् ? धेरैले भन्छन्, ‘विचरा राष्ट्रपतिको के दोष ! उनले त मन्त्रिपरिषद्को सिफारिसलाई सदर गरेको मात्र हो ।’ टेलिभिजन वार्ता ‘जनता जान्न चाहन्छन्’का सञ्चालक र अरूले पनि बारम्बार यही भनेको सुनिन्छ ।
गलत । बिलकुल गलत । कैदीको कैद कट्टी वा आम माफीसम्बन्धी प्रक्रियाबारे हामीमध्ये अधिकांशलाई थाहा छैन जसका कारण यस्तो टिप्पणी गरिन्छ । संविधानअनुसार संसद् र मन्त्रिपरिषद्को निर्णयलाई राष्ट्रपतिले सदर गर्नैपर्छ, यो सही कुरा हो । फौजदारी कार्यविधि संहिता ऐनको दफा
१५९ (८) अनुसार कैदीको कैद कट्टी वा माफी एक मात्र यस्तो सुविधा रहेछ जसमा राष्ट्रपतिले स्वविवेक प्रयोग गर्न पाउँदा रहेछन् (अधिवक्ता इन्द्रप्रसाद अधिकारी, शिलापत्रमा अन्तर्वार्ता) । 
कैदीले गृह मन्त्रालयमार्फत राष्ट्रपतिलाई निवेदन दिन्छ । अर्थात् कैदीको सजायमा अदालतको अन्तिम प्रमाणित फैसलाको पाठसहित गृह मन्त्रालयमार्फत राष्ट्रपतिकहाँ निवेदन पुग्छ । (हत्यारा रिगलले त अझ गृह मन्त्रालयमार्फत पनि नभई साेझै राष्ट्रपतिलाई निवेदन पठाएकाे रहेछ ।) राष्ट्रपतिले त्यसको अध्ययन गरी उचित ठहरिएको निवेदनलाई आ.का. (आवश्यक कारबाही) गर्नु भनी मन्त्री परिषदमा सिफारिसका लागि पठाउँदा रहेछन् । मन्त्री परिषदले यसलाई पास गरेर सदर गर्न राष्ट्रपतिकहाँ पठाउँछ (कुनैलाई पास नगर्न पनि सक्छ) । राष्ट्रपति कार्यालयले अध्ययन गरी पठाएको ठानी कतिपय निवेदन त गहिरेर अध्ययन नै नगरी मन्त्री परिषदले सजिलै पास गरी सदर गर्न राष्ट्रपतिकहाँ पठाएका उदाहरण पनि छन् भनिन्छ । यो प्रक्रिया मालपोत वा भूमि सुधार कार्यालयको प्रमुखले मातहतका कर्मचारीकहाँ आवश्यक कारबाही गर्नु भनेर तोक लगाउने र तलका व्यक्तिहरूले प्रक्रिया पूरा गरेपछि सदर गर्न फेरि हाकिमकहाँ पठाएजस्तै रहेछ । झट्ट देख्दा, संसदीय व्यवस्थामा हरेक काम मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपतिले सदर गर्छ । तर यो एउटा मात्र प्रक्रिया रहेछ जसमा यथार्थमा राष्ट्रपतिको भूमिका कार्यकारी र मन्त्री परिषदको भूमिका औपचारिक मात्र हुँदाे रहेछ ।
यी यी निवेदन स्वीकार्न सकिन्न भनेर राष्ट्रपतिले पहिल्यै अस्वीकार्न सक्छन् । मन्त्री परिषदबाट सिफारिस भई आए पनि आफूलाई गलत लागे ‘यो गलत रहेछ, अहिले बल्ल मलाई महसुस भयो, पुनर्विचार गर्नू’ भनी मन्त्री परिषदमा फेरि फर्काउन पनि सक्छन् । जघन्य हत्यारा रिगलको निवेदनसँगै आएका ३४ निवेदनलाई राष्ट्रपतिले अस्वीकारेको खबर त हामीले नै सुनेकै हौँ । केहीअघि सांसद रवि लामिछाने लगायतको डेलिगेसनलाई हत्यारा रिगलको केसबारे राष्ट्रपति रामचन्द्र पौडेलले ‘यो प्रक्रिया मिलेन, मैले त मन्त्री परिषदले गरेको निर्णय सदर मात्र गरेको हो’ भनेर दिएको प्रतिक्रिया अर्धसत्य र फट्याइँ रहेछ । राष्ट्रपतिले उचित नलागे त्यो निवेदन आ.का. गर्नू भनी मन्त्री परिषदमा नपठाउन पनि सक्छन् जसरी ३४ वटा निवेदन अस्वीर गरी उनले पठाएनन् । यसरी भन्न सकिन्छ, जघन्य हत्यारा रिगलको कैद छुट्टीमा मन्त्री परिषद भन्दा बढी दोषी राष्ट्रपति रामचन्द्र पौडेल रहेछन् ।
चेतन मानन्धरकी पत्नी भारती शेर्पाको आँसु कमजोर थोपा होइन, त्यसले आगो सल्काउन सक्छ भन्ने राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञात होस् र अदालतले निर्णय उल्ट्याउनुअघि नै यसलाई फिर्ता लिइयोस् । समयले कसैलाई पर्खंदैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि