७५ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस र हाम्रो सन्दर्भ

✍️लेखनाथ शिकारु/ १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइन्छ । सन १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिवसको सम्झना स्वरुप यो दिवस मनाइन्छ ।

Dec 10, 2023 - 07:16
Dec 10, 2023 - 07:18
 0  6
७५ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस र हाम्रो सन्दर्भ
लेखनाथ शिकारु

 हरेक वर्षको १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइन्छ । सन १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिवसको सम्झना स्वरुप यो दिवस मनाइन्छ । प्रत्येक वर्ष विभिन्न नाराका साथ मनाइने अन्तर्राष्ट्रिय मानव अधिकार दिवस यो वर्ष अर्थात सन् २०२३ को मूल नारा “Dignity, Freedom, and Justice for all”  “सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय” भन्ने आशयको रहेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले यस वर्षको दिवसको नारा ‘स्वाभिमान, स्वतन्त्रता र सबैका लागि न्याय’ भन्ने तय गरेको छ। विश्वको सबैभन्दा महत्वपूर्ण विश्वव्यापी घोषणाहरू मध्ये एक मानिने मानव अधिकारको विश्वव्यापी घोषणा को ७५ औं वार्षिकोत्सव मनाइदैछ । यो ऐतिहासिक दस्तावेजले जाति, रंग, धर्म, लिङ्ग, भाषा, राजनीतिक वा अन्य विचार, राष्ट्रिय वा सामाजिक उत्पत्ति, सम्पत्ति, जन्म वा अन्य हैसियतको परवाह नगरी सबैलाई मानवको रूपमा पाउने अपरिहार्य अधिकारहरू समावेश गर्दछ । मानव अधिकारको उक्त घोषणापत्रलाई आधुनिक लोकतान्त्रिक राज्य व्यवस्थाको आधार स्तम्भ समेत मानिन्छ ।

हामी सबैको आधारभूत मानवअधिकारका लागि हामी सबैले आवाज उठाउन पाउँछौ र यो जरुरी पनि छ । मानव जन्मिने बित्तिकै देखि मृत्यु पर्यन्त सम्म एउटा सम्मानित र समान जीवन बाँच्नका लागि चाहिने सम्पूर्ण आधारभूत आवश्यकताहरू मानव अधिकार भित्र पर्दछ । मानव अधिकार खासमा एउटा मानिसको जन्म भए पछि उसले पाउनु पर्ने अधिकारहरू हुन् । सम्मानित जीवनका लागि एउटा मानिसका लागि चाहिने सबै आधारभूत आवश्यकताहरू मानव अधिकारभित्र पर्छन् ।

मानव अधिकारप्रति अवहेलना तथा अनादरको परिणामबाटै अन्याय, अत्याचार र दमन हुने भएकाले त्यस्तो अत्याचार र दमनविरुद्ध अरू उपाय नपाएर विद्रोह गर्नु नै अन्तिम उपाय हो भन्ने मानव समुदायले सोच्न नपरोस् भनेर मानवअधिकार घोषणापत्र जारी गरिएको कुरा सो घोषणापत्रको प्रस्तावनामा लेखिएको छ । सामान्य अर्थमा मानिस भएकै कारणले हरेक व्यक्तिले प्राप्त गर्ने जन्मसिद्ध नैसर्गिक अधिकार नै मानव अधिकार हो । त्यसैले यो सार्वभौम, सर्वकालिन र शाश्वत छ ।

मानव भएर बाँच्नका लागि आवश्यक पर्ने न्यूनतम र आधारभूत अधिकारको समष्टिगत रूपलाई मानवअधिकार भनिन्छ । जसले मानवलाई मर्यादित जीवनको प्रत्याभूति दिलाउँछ । यो सर्वव्यापी, अविभाज्य, अनुल्लंघनीय र अपरिवर्तनीय हुन्छ । मानव अधिकारलाई मौलिक अधिकार, आधारभूत स्वतन्त्रता, आधारभूत अधिकार, संवैधानिक अधिकार, प्राकृतिक अधिकार, नागरिक अधिकार आदि भन्ने गरिन्छ । मानव अधिकार नैसर्गिक अधिकार भन्नुको अर्थ यो अधिकार राष्ट्रियता, लिंग, राष्ट्रिय जातीय उत्पीडित, रंग , धर्म, भाषा वा अन्य कुनै भेदभावविना सबैलाई उपयोग गर्ने अधिकार हो ।

यो अधिकार सर्वव्यापी अभिभाज्य, अन्तरसम्बन्धित छन र आत्मनिर्भर पनि  । मानव अधिकारको प्रवर्द्धन र संरक्षण राज्यको प्रमख दायित्व र कर्तव्य हो । त्यसैले पनि मानव अधिकारलाई राज्यको कानुन प्रत्याभूति हुन आवश्यक छ । यसको अर्थ मानव अधिकार केवल देखाउनका लागि नभई यसको सम्मान र संरक्षणका लागि हो भन्ने स्पष्ट हुन्छ । हाम्रो समाजमा जकडिएका रुढीवादी परम्पराका कारण हुने महिलामाथिको हिंसा हुन् या सिरियाका बालबालिकामाथि भइरहेका हिंसा, वा अफगानिस्तानमा महिलामाथि भइरहेका हिंसाहरु किन नहुन, सबै मानव अधिकारका उल्लंघनका घटना हुन् ।

समाजमा विद्यमान जातीय, लैङ्गिक तथा वर्गीय विभेद मानव अधिकार उलंघनका घटना हुन् ।  पाकिस्तानमा ‘अनर किलिङ’का नाममा हुने घटना हुन् या म्यानमारबाट ज्यान जोगाउनैका लागि विदेशिनु परेका रोहिंग्याहरुको वेदना किन नहुन्, सबै आधारभूत मानव अधिकार हनन भएका निर्लज्ज घटना हुन् ती सबै मानव अधिकारका उल्लंघनका घटना हुन् । घोषणापत्र जारी भएको ७५ औं वर्ष भइसक्दा पनि नेपाललगायत अधिकांश दक्षिण एशियाली मुलुक, अफ्रिकन देश र सिरियालगायत अन्य थुप्रै राष्ट्रमा घोषणा पत्रमा उल्लेख भए अनुरुप यी अधिकारको पालना हुन सकिरहेको छैन । त्यसैले अहिले पनि उल्लेख्य संख्यामा द्वन्द्व भइरहेका छन् र संयुक्त राष्ट्र संघको अधिकांश समय र स्रोत शान्ति स्थापनाका लागि खर्च भइरहेको छ । यो नै विश्व मानव अधिकार दिवशको चुनौति हो । नेपालको सन्दर्भमा विगतदेखि नै मानव अधिकार उल्लङ्घनका घटनामा संलग्नलाई दण्ड सजाय दिइएन ।

अहिले पनि मानव अधिकार उल्लंघनका घटनाले प्रश्रय पाइरहेको अवस्था छ । मुलुकमा जरा गाडेको दण्डहीनता र शून्य सहनशीलता मानव अधिकारको लागि प्रत्युत्पादक बनेको अवस्थाबाट सुधार उन्मुख अवस्थामा त छ नै । मुख्य कुरा वर्तमानमा संविधानको कार्यान्वयन मुख्य चुनौति नै हो । मानव अधिकार घोषणापत्रको प्रभावकारी कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय स्तरमा मानव अधिकारसम्बन्धी थुप्रै सन्धि र सम्झौता पनि भएका छन् । ती सन्धि सम्झौताले पक्ष राष्ट्रउपर मानव अधिकार सम्मान, संरक्षण र सम्बर्धनको बाध्यकारी दायित्व सुम्पिएको हुन्छ । हुन त नेपालको संविधानले मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन र प्रभावकारी कार्यान्वयनको सुनिश्चिततालाई जोड दिएको छ ।

संविधान र कानूनद्वारा प्रदत्त आधारभूत मानव अधिकारको प्रत्याभूतिका लागि मुलुकमा विभिन्न संस्थागत संरचनाहरु तथा नीतिगत एवम कानूनी व्यवस्थाहरु गरिएका छन् । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्वद्र्धनसम्वन्धी नीतिहरुको क्रमश कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउने कार्यलाई राज्यको दायित्वको रुपमा स्थापित गरिएको छ । संविधानमा मौलिक हकको व्यवस्था गर्नु र ती हकको प्रचलनका लागि आवश्यक संयन्त्र र संरचनाको स्थापना गर्नुले मात्र मानव अधिकारसम्बन्धी दायित्व पूरा हुन सक्दैन ।

सो दायित्व पूरा हुनका लागि राज्यले मानव अधिकारको सम्मान गर्ने र यदि कसैले मानव अधिकार उपर ज्यादती गरेमा त्यस्ता ज्यादतीबाट पीडित हुन पुगेकालाई प्रभावकारी उपचार प्रदान गरी उल्लंघन कर्तालाई जवाफदेही बनाउने संस्कार बसाल्नुपर्छ । अर्थात बनेका ऐन कानुनको प्रभावकारी कार्यान्वयन आजको चुनौती हो । नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा संवर्धन गर्दै विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च प्राथमिकता दिएको भएपनि व्यवहारतः कार्यान्वयनमा समस्या रहेको सरोकारवालाहरुले आरोप समेत लगाउने गरेका छन् ।  ७५ औं विश्व मानव अधिकार दिवसको अवसरमा अरुको अधिकारको कदर र सम्मान गर्दै आफ्नो अधिकारप्रति सजग र सचेत बन्न प्रेरणा मिलोस् ।

परस्परमा सद्भाव राखी अधिकार र कर्तव्य दुवै ख्याल गर्न सिकौं । मानव मूल्य, प्रतिष्ठाको जानी नजानी अवमूल्यन हुन नदिने अभियानको सुरुवात आफैँबाट गरौँ । आफ्नो र अरुको कसैको मानवअधिकार हनन नहुने सभ्य र विधिसम्मत समाजको लागि आआफ्नो तर्फबाट प्रण गरौं ।  नीति र कानून कार्यान्वयनको पक्ष बलियो होस,दोषिलाई राजनीतिक संरक्षण दिने प्रचलनले दण्डहीनताले प्रसय नपाओस् मानव मूल्य र अधिकारबारे हामी बीच विद्यमान सवालहरुको उत्तर हासिल हुँदै जाउन हामीले आफ्नो तर्फबाट पनि मानव अधिकार मैत्री व्यवहारको संकल्प लिऔँ, अधिकारसँगै कर्तव्यलाई पनि नभुलौं । समाजमा विद्यमान सबै प्रकारका भेदभावका अन्त्य गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रूपान्तरण कायम गर्न यस दिवसले थप प्रेरणा प्रदान गरोस् मानव अधिकार दिवसको शुभकामना ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि