कविता – के छोप्छौ ? - सीता भट्टराई
खोलाकै अबिराम सङ्गम हुने दोसाँध हो जिन्दगी
पानीकै अबिराम कन्चन हुने मान्छे बनेको नदी
कान्ला, भीर र सम्म, पर्वत गरा उद्यान भेट्छौँ जहाँ
ती सारा नद,ताल, खेत,छहरा भेटिन्छ खोज्दा यहाँ
सानो सोच हुँदा मथिङ्गल सबै दौडन्छ खोल्सो बनी
शङ्का धेर हुँदा मिचिन्छ मन ती भासिन्छ बस्ने जिमि
बस्छन् मूर्ख जहाँ उहाँ बुझ सखे ती ज्ञान बेकार छन्
मूर्खै–मूर्ख हुँदा ढले महल ती आगो सबै खार छन्
काँचा छन् सब दाउरा भन सखे आगो बिना बल्छ र ?
तोडी पत्थरका कला अझ सखे दर्वार ती बन्छ र ?
हाँगा, पात र डाँठ साथ नभए के वृक्ष त्यो उठ्छ र ?
भाँचे फेद सधैँ ल उठ्छ कसरी त्यो वृक्षको जाँगर ?
भाँच्दै छन् मन नै मिसी जहर ती बन्ला कहाँ निर्मल ?
तोडी काँच सधैँ बनाउँछु भनी त्यो काँच जोडिन्छ र ?
काँचा छन् कति कर्म स्वार्थ गतिका बन्छन् कहाँ सुन्दर ?
आफ्नै ताप र रापले मरिच त्यो खुम्ची बस्यो हैन र ?
एक्लै छिन् पृथिवी बसिन् रहरले ब्रह्माण्डका साथमा
एक्लै छन् वनका लता र लहरा रम्छन् जहाँ गाथमा
हेर्दा न्याय जहाँ ढली बगर भो छोपेर बोक्रोपन
के छोप्छौ ? भन मूर्ख ! मूर्खविधिले बन्छौ कहाँ सज्जन ?
बौद्ध रामहिटी
What's Your Reaction?