सूचक प्रकाशनको पुस्तकालय उद्घाटन / साहित्यकारलाई पुरस्कार समर्पण

Feb 11, 2024 - 08:11
 0  24
सूचक प्रकाशनको  पुस्तकालय उद्घाटन / साहित्यकारलाई पुरस्कार समर्पण

माघ २८, काठमाडौं,काव्य घर । सिर्जनाको खोजी, प्रतिभाको सम्मान,सूचकको राष्ट्रिय अभियान’ भन्ने मूल मन्त्र अङ्गिकार गरेको सूचक मासिकद्वारा पठन संस्कृतिलाई टेवा पुर्याउने उद्धेष्यले केदारनाथ लीलादेवी पुस्तकालय समुद्घाटन तथा समाजसेवी तथा शैक्षिक अभियन्ता तीर्थप्रसाद ढकाललाई केदारनाथ शिक्षा पुरस्कार अर्पण गरियो भने ’फोक्सोमा देश’की सर्जक स्थानीय कवि दिलकुमारी डङ्गोल बिडारीलाई लीलादेवी साहित्य पुरस्कार समर्पण गरिएको छ। 

तारकेश्वर नगरपालिका वडा नम्बर ६ धर्मस्थलीमा आयोजित विशेष कार्यक्रममा समाजसेवी तथा शिक्षाविद् एवं केदारनाथ शिक्षा पुरस्कारको संस्थापक केदारनाथ श्रेष्ठको सभापतित्व तथा केदारनाथ लीलादेवी साहित्य पुरस्कारका संस्थापक, समाजसेवी एवं साहित्यकार लीलादेवी श्रेष्ठ,साहित्यकार तथा कार्यक्रमका संयोजक घनश्याम पुडासैनी, अनेकौं भाषा तथा लिपिका ज्ञाता एवं साहित्यकार अर्जुन विरक्ति स्तोत्रीय, लीलादेवी शिक्षा पुरस्कार बाट सम्मानित तीर्थप्रसाद ढकाल तथा लीलादेवी साहित्यकार पुरस्कारबाट पुरस्कृत कवि दिलकुमारी डङ्गोल बिडारी तथा तारकेश्वर न।पा।वडा नम्बर ६ का वडाध्यक्ष घऩश्याम श्रेष्ठको समुपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । 

कार्यक्रममा स्वागत मन्तव्यका क्रममा बोल्दै सूचक प्रकाशनका अध्यक्ष दिपक भेटुवाल दीपसागरले विविध कला संस्कार संस्कृति एवं पौराणिक महत्वको नगरी तारकेश्वरमा पठन संस्कृतिको बिकाश  गर्ने उद्देश्यका साथै चेतनाको दायरा फराकिलो पार्ने सत्प्रयास स्वरुप ४०औं पुस्तकालयका रुपमा केदारनाथ लीलादेवी पुस्तकालय स्थापना गर्न पाऊँदा अत्यंत संतोष लागेको बताउँदै यसका निरंतरताका लागि तारकेश्वर नगर पालिकाले अपनत्व लिनु पर्ने कुरामा जोड दिएका छन् । 

 आफ्ना क्षेत्रमा अब्बल दक्षता प्रस्तुत गर्ने पुरस्कृतहरुका नाम छनौट समितिमा रहि कुशलता पुर्वक निर्णय गर्दै गरेका घनश्याम पुडासैनीले मन्तव्यका क्रममा पुस्तकालयमा इतिहास भूगोल, संस्कृति दर्शन तथा ज्ञान बिज्ञानका महत्वका पुस्तक राखि चेतनाको चिराग़ बाल्नुपर्ने कुरामा जोड दिएका छन् । यसैक्रममा विश्लेषक तथा साहित्यकार कृष्णहरि भट्टले वर्तमान अवस्थामा सूचकको पुस्तकालय स्थापना जस्तो पवित्र कर्मको प्रशंसा गर्दै अध्ययनको मर्म बुझ्ने काम भन्दा अध्ययनको माध्यमले आफैंलाई बदल्ने अभियानमा लाग्नु जरुरी रहेको बताउंदै पतनोन्मुख संस्कृति हावी हुन नहुने स्पष्ट पार्दै पुस्तकालय स्थापनाले युगान्तकारी भूमिका निर्वाह गर्ने कुरा बताएका छन् । 

उक्त अवसरमा केदारनाथ लीलादेवी पुरस्कार छनौट समितिका संयोजक एवं वरिष्ठ साहित्यकार घनश्याम पुडासैनीले सूचक प्रकाशनको बृहद सम्मान कार्यक्रमबाट सम्मानित बिगत लामो समयदेखी शिक्षाको क्षेत्रमा अथक सेवा प्रदान गरेका शिक्षासेवी तिर्थप्रसाद ढकाल तथा समाजसेवी राष्ट्रीय कविता महोत्सव २०८० मा बिशिष्ट स्थान हांसिल गरेकी कवि दिलकुमारी डङ्गोल बिडारीका बारेमा प्रकाश पारी सम्मानित दुवै व्यक्तित्वलाई माला खादा प्रमाण पत्रका साथै नगद राशि सहित सम्मानित गरिएको थियो । 

अध्ययन संस्कृतिले चेतनाको बिकाश हुन्छ भन्ने कुरालाई हृदयंगम गर्दै सूचक प्रकाशनका मानवीय सत्कर्ममा साथ र सहयोगका खाँतिर उपस्थित रहेका समाजका लब्धप्रतिष्ठित एवं लेखक साहित्यकारहरु मध्य आफ्ना जिजुबाजे चन्द्रलाल मुमिकश श्रेष्ठद्वारा  हस्तलिखित रुपमा १९१५ सालमा लेखेर छाडेको भनिएको ऐतिहासिक ‘स्वस्थानी ब्रतकथा’ लाई डा।रमेशकुमार ढुङ्गेलको सम्पादन तथा परिचय लेखनपछि प्रकाशनमा ल्याएको ऐतिहासिक पुस्तकलाई दिलीप श्रेष्ठले सो अवसरमा पुस्तकालयलाई हस्तान्तरण गरेका थिए । यसैक्रममा अभिवक्ता तथा लेखक गङ्गाप्रसाद भेटवालले पर्दाभित्र , कवि रुबि सत्यालले अछुत जून, लीलादेवी श्रेष्ठले अठोट, दिलकुमारी डंगोल बिडारीले फोक्सोमा देश, सुमनकुमार श्रेष्ठ, सुशान्त न्यौपाने , लगायतले  पुस्तकालयलाई पुस्तक हस्तांतरण गरेका थिए ,साथै केशरी अमगाईंद्वारा पुस्तकालयलाईा ५० थान पुस्तक उपलब्ध गराउने बाचा गरेका छन् । सो अवसरमा विकास अभियन्ता एवं लेखक श्रीराम फुटु्ङ्गेले  दीर्घकालिन र सहभागितामूलक योजना बिना चिरस्थायी रुपमा अघि बढ्न कठीन हुने बिचार ब्यक्त गर्दै पुस्तकालयको निरंतरता रहे मात्रै लक्षित उद्देश्य हासिल हुने बताएका छन् । 

तारकेश्वर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष घनश्याम श्रेष्ठले पठन संस्कृतिलाई सक्रिय तुल्याउन पहल गर्ने समाजसेवी भेटुवालको सदिच्छाको सम्मानका खातिर पनि पुस्तकालयलाई वडा कार्यालयमा स्थानान्तरण गर्न पहल गर्ने बचनबद्धता व्यक्त गर्दै धर्मस्थलीका बारेमा प्रकाश पार्ने सन्दर्भ सामग्री निर्माण गरिनु पर्ने कुरामा समेत जोड दिएका छन् । यसैगरि अनेकौं भाषा तथा लिपिका ज्ञाता एवं करिव तीनदर्जन कृति प्रकाशन गरिसकेका साहित्यकार अर्जुन विरक्ति स्तोत्रीयले सम्यक संदेशका अध्यक्ष दीपक भेटुवाल ‘दिपसागरको’ भूमिका प्रशंसनीय रहनुका साथै बुद्धवादीलाई बुद्धवादीले, मार्क्सवादीलाई  मार्क्सवादीले अर्थात् सम्पूर्णवादी लाई त्यहि वादीले निर्मम हत्या गरि सखाप पारेको उल्लेख प्राचीनतम संस्कृतिको रक्षा र जगेर्नाका लागि आवश्यक परेको खण्डमा ब्राम्ही र पाली भाषा, लिपिमा लेखेर सघाउ गर्ने बचनवद्धता व्यक्त गरेका छन् । 

कार्यक्रममा सभापतिको भूमिका निभाएका वरिष्ठ शिक्षाविद् समाजसेवी एवं केदारनाथ शिक्षा पुरस्कारका संस्थापक केदारनाथ श्रेष्ठले सूचक प्रकाशनका अध्यक्ष भेटुवालको सक्रियताको तारिक गर्दै पुस्तकालयलाई आफू बाँचुन्जेलसम्म  सकारात्मक सहयोगको प्रतिवद्धता सहित तीनपटक बाँचेको नाफाको जिन्दगीका स्वास्थ्य संघर्षका कथा बताउंदै  धर्मपत्नीमा समर्पित एक गीत प्रस्तुत गरेका थिए । सो अवसरमा 
 हरिप्रसाद पाण्डेय, पुरुषोत्तम थपलिया,बाबुराम केसी, दिलीप श्रेष्ठ, वासुदेव ठकुरी, रोशन पाण्डे केशरी अमगाईं , सुमनकुमार श्रेष्ठ , दैनिक न्युज पोष्टका सम्पादक ऋषि बस्याल , बरिष्ठ पत्रकार कुमार रञ्जित,फरकपत्र अनलाइनका प्रमुख सुशान्त न्यौपाने ,अधिवक्ता एवं साहित्यकार गङ्गाप्रसाद भेटवाल , साझापत्र अनलाइनका पुकार तिमिल्सिना लगायत सयौं स्थापित साहित्यकार एवम् समाजसेवीको उपस्थिति रहेको थियो भने राजेश महर्जन र उनको समूहले आगन्तुक पाहुनाहरुका लागि स्वादिष्ट भोजनको व्यवस्थापनसंगै पुण्यको कर्म गरेका थिए । उक्त कार्यक्रमलाई कवि तथा साहित्यकार माधव घिमिरे ‘अटल’ द्वारा कुशलतापूर्वक संचालन गरेका थिए । 
–जयराम बिडारी 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि