कोशी प्रदेशबाट सत्ता गठबन्धनमा अविश्वासको विजारोपण  ःयादव 

Jan 27, 2024 - 20:53
 0  10
कोशी प्रदेशबाट सत्ता गठबन्धनमा अविश्वासको विजारोपण  ःयादव 


माघ ११, काठमाडौं काव्य घर  । जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा सांसद राजकिशोर यादवले राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशको नतिजाको कारण सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन् । उनले भने,‘अहिलेको गठबन्धन मुलुकमा देखापरेका समस्या समाधान गर्नेगरि निर्माण भएको हो । कोशीको राष्ट्रियसभाको निर्वाचनमा जुनप्रकारको समस्या देखियो, त्यही समस्याको कारण गठबन्धन टुट्छ भन्ने चर्चा छ । यसले गठबन्धनमा खासै असर पार्दैन् । तर, यसले एउटा विमर्शको आवश्यकत्ता महशुस गराएको छ । के/कति कारणले त्यहाँ दुर्घटना भयो ? सम्बन्धित दलका नेतृत्वले समयमै समाधान गर्नुपर्छ ।’
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै यादवले केन्द्रीय नेताहरुको तहमा भएको सहमति पालना नहुनु दुःखद् भएको टिप्पणी गरे । उनले भने,‘यसले गठबन्धनभित्र आपसमा अविश्वास पैदा गर्छ । अर्को भनेको वैचारिक र सैद्धान्तिक रूपमा भ्रष्टीकरण ल्याउँछ । नेतृत्व तहमा एकप्रकारको सहमति भैसकेपछि त्यसलाई इमानदारीपूर्वककार्यान्वयन गर्नुपर्दथ्यो । तर, विचलन देखियो । दीर्घकालिन रुपमा असर गर्छ । त्यहाँबाट अविश्वासको विजारोपण भएको छ । यसलाई समयमै सबै मिलेर समाधान गर्नुपर्छ । गठबन्धनको स्वास्थ्यको लागि राम्रो हुँदैन् ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले राष्ट्रियसभाको अध्यक्षको लागि गठबन्धनभित्र भएको सहमति पालना हुने विश्वास दिलाए । उनले भने,‘अहिले राष्टियसभाको अध्यक्ष को हुने भनेर बहस भएको छ । मलाई लाग्छ–गठबन्धनभित्र जे सहमति भएको छ, त्यो इमानदारपूवर्क लागु हुन्छ । हाम्रो दलबाट दाबी छैन् । सहमतिले यो महत्वपूर्ण जिम्मेवारी दिने कुरा हो । अब कसले जिम्मेवारी वहन गर्नसक्छ त्यो हेर्नुपर्छ ।’
उनले अहिले गठबन्धनको सरकार हुँदापनि मुलुक जुन गतिमा अघि बढनुपर्ने हो त्यसरी बढ्न नसकेको स्विकारे । उनले भने,‘मुलुक अहिले सकारात्मक दिशामा जानुपर्दथ्यो । जति काम हुनुपर्ने थियो, त्यति काम भएको छैन् । आज जनतामा निराशा छ । असन्तुष्टि व्याप्त छ । सरकारप्रति ठूलो अविश्वास छ । पार्टी र नेतृत्वप्रति जनमानसमा एकप्रकारको आक्रोश छ । जनताको आक्रोशलाई समयमै सम्बोधन गरिएन भने दुर्घट्ना हुनसक्छ । दलहरुबाट खाली सरकार बनाउने र भत्काउने काममात्रै भयो भने दुर्घटना हुन्छ ।’
यादवले अहिलेको राष्ट्रिय राजनीति संकटको डिलमा रहेको भन्दै त्यसबाट पार लगाउनको लागि सबै जिम्मेवार हुनुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘हिजो नेतृत्व गरेर जिम्मेवार पदमा बसे, राजनीति गरे, आज तिनीहरु नै आफ्नो सन्तान अर्को देशमा जन्माउन गएका छन् । अमेरिका र युरोप गएर बच्चा जन्माउने काम भएको छ, यो अनिष्टको संकेत हो । सबै मिलेर राष्ट्रका सामू भएका चूनौति सामना गर्नुपर्छ ।’
यादवले अहिलेको संविधानलाई परिमार्जन, परिवर्तन र पूनर्लेखन गर्न पूर्व प्रधानन्यायाधीशसहित संविधानविद्हरुको सहभागितामा बलियो आयोग गठन गर्नुपर्ने माग गरे । उनले भने,‘संविधान परिमार्जन गर्न ढिलो गर्नुहुँदैन् । संविधानमा समस्या छ ।’
उनले नेपाल र भारतको सम्बन्ध युनिक र ऐतिहासिक रहेको बताए । उनले भने,‘नेपाल र भारतको सम्बन्ध जतिसुकै वर्णन गरेपनि कम हुन्छ । यो सम्बन्ध युनिक र ऐतिहासिक अनि बहुआयामिक छ । अब नेपालले फाइदा लिनेगरि रणनीति बनाउनुपर्छ । भारतको तिव्र आर्थिक वृद्धि भैरहेको छ, त्यसबाट नेपालले लाभ लिन सक्नुपर्छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि