अबको राष्ट्रिय सभा अध्यक्ष कृष्णप्रसाद सिटौला –विडारी

Jan 27, 2024 - 21:08
 0  6
 अबको राष्ट्रिय सभा अध्यक्ष कृष्णप्रसाद सिटौला –विडारी


माघ १३ काठमाडौं, काव्य घर  । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीको मत परिणामलाई लिएर सत्ता गठबन्धनमा कुनै असर नपर्ने बताएका छन् ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले राष्ट्रिय सभा सदस्य निर्वाचन पश्चात सत्तारुढ गठबन्धन दलका नेताहरुसँग समसामयिक विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको भावना विरित गडबड गर्नेलाई सम्बन्धित पार्टी र गठबन्धनले उचित दण्डित गर्ने बताउँदै यसकै कारणले सत्ता गठबन्धनमा कुनै फेरबदल नआउने बताएका हुन् । 
‘गठबन्धनमा कुनै प्रकारको फरक पर्दैन । कोशीले गडबड गर्यो नि भन्ने छ, गडबड गर्नेलाई आवश्यक दण्ड सम्बन्धित पार्टी वा गठबन्धनले गर्नेछ । त्यसको निम्ति छानविन हुनपर्यो । कसले गडबड गर्यो, किन गर्यो, गडबडका कारण के थिए ? यो बारेमा छानविनपछि मात्रै भनिन्छ,’– उनले भने । 
जनयुद्धमा सहभागी भएकी माओवादी केन्द्रकी नेतृलाई कोशीमा हराइएको भन्दै उनले दुःख व्यक्त गरे । उनले कोशीमा केपी ओलीले चलाखी गरेको समेत बताए । एमाले अध्यक्ष ओलीलाई रकमी र बडो चलाख मान्छेको संज्ञा दिँदै उनले अनेक तिक्डम गरेर आफ्नो पक्षमा एक सिट पारेको टिप्पणी गरे । 
‘हाम्रो पार्टीको अपाङ्ग भएको, जनयुद्धमा सहभागी भएको उम्मेदवारलाई हामीले कोशीमा उठाएका थियौं ।’ उनले भने, ‘त्यसको सट्टामा केपीजी बडो चलाख मान्छे, कूटनीति जान्ने मान्छे, त्याँमाथि एमाले भनेपछि अहिलेदेखि होईन, पहिल्यैदेखि बडो तिक्डम गर्न जान्ने, रकमी प्रकारका काम गर्न उल्का सिपालु भावनाले त्यहाँ उहाँहरुले एउटा सिट गडबड पार्दिन सक्नुभयो ।’ 
नेता विडारीले अब राष्ट्रिय सभाको अध्यक्षमा कृष्णप्रसाद सिटौलानै निश्चितप्रायः भएको बताए । राष्ट्रिय सभा सदस्य निर्वाचनमा जाँदै गर्दा पनि सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति भएरनै उम्मेदवार बनाइएको उनको भनाइ छ । सिटौलाको स्वभव, शान्ति प्रक्रियामा पुर्याएको योगदान र टुंग्याउन पर्ने शान्ति प्रक्रियाका कामलाई विचार गरेर अहिलेको परिस्थितिमा उनलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउन उपयुक्त हुने विडारीको भनाइ छ । 
‘अब राष्ट्रिय सभाको अध्यक्ष को हुन्छ ? यो कुराको निर्णय गर्ने ठाउँमा त म छैन । मेरो विचारमा पहिलो सहमति भएको चाहीँ कृष्णजीलाई अथवा कांग्रेसको उम्मेदवारलाई नै बनाउने हो कि भनेर राम्रोसँग छलफल भएको थियो । अब अलिकति गडबड भएको छ के गर्ने भन्दापनि मेरो विचारमा कृष्ण सिटौलाजीको व्यक्तित्व उहाँको प्रभाव, उहाँको शान्ति प्रक्रियामा योगदान, शान्ति प्रक्रियाको काम बाँकी अझै छ । संवैधानिक परिषद्को सदस्यसमेत हुने पद त्यो । त्यसो भएको हुनाले त्यो सम्भावना अहिले टरिसकेको छ जस्तो मलाई लाग्दैन,’– नेता बिडारीले भने । 
राष्ट्रिय सभा अध्यक्षका बारेमा पार्टीमा विस्तृत र गठबन्धनमा व्यापक छलफल गरेर टुंगोमा पुग्नुपर्ने उनले बताए । साथैै, कांग्रेसभित्रको प्रवृत्तिका बारेमा गठबन्धनमा व्यापक छलफल गर्नुपर्ने आवश्यकता उनले औंल्याए । नेता बिडारीले भने, ‘गठबन्धनको बारेमा व्यापक छलफल चाहीँ गर्नपर्ने बेला भएको छ । खासगरी कांग्रेस पार्टीसँग । किनभने यस्तो किन भयो ? कांग्रेस दुईवटा पार्टी त होईन । कांग्रेस पार्टीभित्र कांग्रेस अर्को पार्टी त हुँदैन । त्यस कारणले यो छलफलको विषय हो ।’ 
राष्ट्रिय सभा अध्यक्ष सिटौलालाई बनाउँदै गर्दा प्रचण्ड प्रधानमन्त्रीबाट हटेपछि संवैधानिक परिषद्मा माओवादी शून्य हुने अवस्था बारेपनि पार्टीभित्र छलफल हुनुपर्ने उनको भनाइ छ । उनले यति हुँदाहुँदै पनि सिटौला राष्ट्रिय सभा अध्यक्ष बन्ने सम्भावना प्रवल रहेको बताए । 
‘माओवादीलाई पनि समस्या के छ भने प्रधानमन्त्रीका पद समाप्त भएपछि संवैधानिक परिषद्मा माओवादी शून्य हुन्छ । अहिलेको प्रधानमन्त्री भएको हुनाले अध्यक्षनै प्रधानमन्त्री हुनुहुन्छ ।’ नेता बिडारीले भने, ‘त्यसो भएको हुनाले त्यो समेतलाई विचार गरेर व्यापक र विस्तृत रुपमा छलफल हुन्छ । माओवादीले पनि दाबी गर्छ तर कृष्णप्रसाद सिटौलाजी राष्ट्रिय सभा अध्यक्ष हुने सम्भावना प्रवल छ ।’
उनले अहिले आफूलाई संविधान बनाउँदा निर्वाचन प्रणालीमा केही गल्ती गरिएछ भन्ने भान भइरहेको बताए । संविधान सभामा समानुपातिक समावेशितासहितको प्रत्यक्ष निर्वाचन प्रणाली आवश्यक भएपनि अहिले समानुपातिक प्रणालीका कारण कुनै पनि दलको बहुमत आउने अवस्थानै नरहेको बताए । आफूले प्रधानमन्त्रीलाई भेट्दा सधैं संविधान संशोधनको बारेमा भन्ने गरेको समेत बताए । उनले निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्ने आवश्यकता औल्याए । 
‘हामीले संविधान बनाउने बेलामा पनि छलफल गरेका थियौं । त्यसबेला हामीले संविधान बनाउँदाखेरी निर्वाचन पद्धतिका बारेमा चाहीँ अलिकति हतार गरेछौं कि जस्तो लागेको छ अहिले आएर । समानुपातिक समावेशी सिद्धान्त बमोजिम संविधान सभा गठन गर्नु उपयुक्त थियो ।’ उनले भने, ‘प्रतिनिधि सभामा चाहीँ समानुपातिक समावेशीसहितको प्रत्यक्ष गर्दा कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन सक्ने स्थिति हुँदो रहेनछ । अभ्यासले देखियो, यो हामीले कहिल्यै अभ्यास गरेका पनि थिएनौं । नेपालले गणतन्त्र, संघीयता व्यहोरेको थिएन । किताबमा मात्रै पढेको हो । निर्वाचन पद्धतिका बारेमा छलफल गर्नुपर्ने भएको छ ।’ 
भारतको संविधान ७० वर्षको अवधिका एक सय ३ पटक भन्दा बढि संशोधन भएको बताउँदै उनले नेपालको संविधान संशोधन गर्नुपर्ने विभिन्न ठाउँ रहेको बताए । भारतको संविधानले सरकारलाई पनि कानुन बनाउने अधिकार दिएकाले त्यहाँ विकासको वातावरण सहज बनेको उनको दाबी छ । नेपालको संविधान बमोजिक सरकारले कानुन बनाउन नसक्ने स्मरण गराउँदै उनले यस्तो प्रकारको अधिकार सरकारलाई पनि दिनुपर्ने आवश्यकता औंल्याए । 
कानुन बनाउने जिम्मेवारी पाएको प्रतिनिधि सभाले सही समयमा सही काम गर्न नसकेको उनको टिप्पणी छ । प्रतिनिधि सभा सदस्यहरु कानुन बनाउन छाडेर आफ्नो निर्वाचन क्षेत्रमा झोलुङ्गे पुलको चक्करमा लाग्दा केही स्वार्थ समूहहरुले आफू अनुकूलको कार्यविधि, निर्देशिका लगायतका विधि विधान बनाएर भ्रष्टाचार गरिरहेको उनको आरोप छ । वर्तमान संविधान तत्कालीन समयमा विभिन्न खाले शक्तिहरुसँग सम्झौताबाट बनेको बताउँदै उनले परिमार्जन गर्नुपर्ने बताए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि