नयाँ सत्ता समीकरणबारे नेसपाको भनाइ

Mar 7, 2024 - 21:40
 0  2
नयाँ सत्ता समीकरणबारे नेसपाको भनाइ

फागुन २४,काठमाडौं,काव्य घर । प्रतिगमन विरोधी आन्दोलनको जगमा लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धन विघटन भएर नयाँ गठबन्धन सहित पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पुनः नयाँ सरकार बनेको छ, यस घटनाप्रति नेपाल समाजवादी पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सत्ता स्वार्थका लागि हुने सरकार परिवर्तनलाई हाम्रो पार्टीले सकारात्मक रुपमा लिन सक्दैन र यस प्रकारको कुर्सीका खेलप्रति नेपाली जनताको रुचि र चासो पनि छैन ।

हाम्रो पार्टीले मुलुकमा राजनीतिक स्थिरता सहित सुशासन, दिगो विकास र समृद्धी खोजेको छ । राजनीतिक दलहरुले संघीयता, समावेशीता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक प्रणाली ह संविधान र लोकतन्त्रको जगेर्ना गर्दै अगाडी बढ्नु अहिलेको आवश्यकता हो ।

अग्रगामी शक्तिहरू एकताबद्ध भई शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउने, राजनीतिक स्थिरताका लागि संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जाने, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न शक्तिशाली जनलोकपाल गठन गर्ने, संघीयतालाई सम्बर्धन गर्ने, संविधान अनुकूल ऐन कानूनहरु निर्माण गर्ने, आर्थिक क्रान्तिका कार्ययोजनाहरु तयार गरी समृद्धि हासिल गर्ने र राष्ट्रिय एकतालाई बलियो बनाउन साझा परराष्ट्र नीति अबलम्बन गरी ठूला दुई छिमेकी राष्ट्रसँग समनिकटताको सम्बन्ध कायम राखी अगाडी बढ्नुपर्ने कुरामा जोड दिन्छ ।

संसदीय राजनीतिको फोहोरी खेलमा लागेर कुर्सीको लागि राष्ट्र र जनताको हितलाई सौदाबाजी गर्ने, सरकारमा गएर राज्यको दोहन गर्ने, परिवारबाद, नाताबाद, सत्ता लिप्तमा लाग्ने प्रवृत्तिले देशलाई राजनीतिक अस्थिरता, निराशा र पश्चगमन तर्फ धकेल्ने निश्चित छ । अतः नेपाल समाजवादी पार्टी यस्ता अलोकतान्त्रिक र गैरराजनीतिक प्रवृत्तिहरुको भण्डाफोर गर्दै वैकल्पिक राजनीतिक शक्ति निर्माणको दिशामा दृढता पूर्वक आगाडी बढ्ने प्रतिबद्धता प्रकट गर्दछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि