साहित्य सदन नेपालद्वारा मोहनविक्रम सिंह र अभि सुवेदीलाई सम्मान

Jun 9, 2023 - 20:12
Jun 10, 2023 - 06:13
 0  48
साहित्य सदन नेपालद्वारा मोहनविक्रम सिंह र अभि सुवेदीलाई सम्मान

/ साहित्य सदन नेपालले प्रतिवर्ष प्रदान गर्दै आएको ‘हृदयचन्द्र स्मृति सम्मान २०७९' यस वर्ष वरिष्ठ प्रगतिवादी साहित्यकार तथा सौन्दर्यचिन्तक मोहनविक्रम सिंहलाई र यस वर्षदेखि साहित्य सदनले प्रदान गरेको ‘व्यथित साहित्य सम्मान’ वरिष्ठ समालोचक, कवि, निबन्धकार एवं नाटककार प्रा.डा.अभि सुवेदीलाई प्रदान गरेको छ । नेपाली साहित्यमा मोहनविक्रम सिंह समाजवादी यथार्थवादी धाराका सशक्त स्रष्टा एवं द्रष्टाका रूपमा सुपरिचित छन् । साहित्य लेखन यात्रामा झन्डै सात दशक व्यतीत गरिसकेका अठासी वर्षीय सिंहका सिर्जना र समालोचना गरी दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

अभि सुवेदी नेपाली र अङ्ग्रेजी दुवै भाषामा समानान्तर रूपमा कलम चलाउने व्यक्तित्व हुन्। छ दशकको साहित्यिक यात्रा पार गरेका सुवेदीका करिब दुई दर्जन कृति प्रकाशित छन् । राणाविरोधी आन्दोलनदेखि निरन्तर राजनीतिक, वैचारिक सङ्घर्षमा हेलिएका मोहनविक्रम सिंह साम्यवादी आस्थाका अविचलित शिखर व्यक्तित्व हुन् भने अभि सुवेदी प्राध्यापन र लेखन दुवै क्षेत्रका एक उच्च बौद्धिक व्यक्तित्व हुन् । उक्त सम्मान साहित्य सदन नेपालले आज २०८० साल जेठ २६ गते शुक्रवार साहित्य सदन नेपालको आफ्नै प्रेक्षालय, रामहिटी, बौद्धमा एक भव्य समारोहका बिच प्रदान गरेको हो।

सदनका कार्यवाहक अध्यक्ष प्रा.डा.हेमनाथ पौडेलको अध्यक्षता र वरिष्ठ कवि वैरागी काइँलाको प्रमुख आतिथ्य एवं वरिष्ठ साहित्यकार एवं साहित्य सदन नेपालका संस्थापक गङ्गाप्रसाद उप्रेतीको विशेष आतिथ्यमा सम्पन्न उक्त समारोहमा सिंहका तर्फबाट उहाँकी जीवनसाथी दुर्गा पौडेल र सुवेदीलाई सम्मानस्वरूप फूलमाला, दोसल्ला र क्रमश: रु पच्चिस र बिसहजार सहित सम्मान पत्र प्रदान गरिएको थियो । सो कार्यक्रममा प्रा.डा.रामप्रसाद ज्ञवालीले जनसाहित्यकार हृदयचन्द्र सिंह प्रधान र कविवर केदारमान व्यथितकाे योगदानका बारेमा प्रकाश पारेका थिए भने साहित्यकार मोहन दुवालले सम्मानित व्यक्तित्वकाे योगदानका बारेमा प्रकाश पारेका थिए। कार्यक्रममा डम्बर ढकालले साङ्गीतिक प्रस्तुति, कवि प्रह्लाद पोखरेलले सबै स्रष्टाका बारेमा लेखिएको कविता वाचन गरेका थिए भने सीता शर्मा र सुशीला प्रधानाङ्गले क्रमश: हृदयचन्द्र सिंह र व्यथितका कविता वाचन गरेका थिए । विशेष अतिथि सदनका संस्थापक गङ्गाप्रसाद उप्रेतीले साहित्य सदनको संस्थापनाको इतिहासका बारेमा प्रकाश पार्दै पुरस्कृत व्यक्तित्वहरूलाई बधाई दिएका थिए । प्रमुख अतिथि वैरागी काइँलाले सिंह र सुवेदीको नेपाली साहित्यका क्षेत्रमा उल्लेखनीय योगदान रहेको उल्लेख गर्दै साहित्य सदनले उचित पात्रको चयन गरेकोमा खुसी व्यक्त गरेका थिए । सदनका सचिव कवि मित्रलाल पंज्ञानीले विषय प्रवेश र स्वागत गरी प्रारम्भ भएको उक्त समारोहको सहजीकरण कवि कृष्ण सुवेदी 'भारद्वाजमित्र' ले गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि