प्रज्ञा परिषदकोबैधानिकता उपर उजुरीको पत्र

Jun 16, 2023 - 22:40
Jun 17, 2023 - 20:09
 0  83
प्रज्ञा परिषदकोबैधानिकता उपर  उजुरीको पत्र
प्रज्ञा परिषदकोबैधानिकता उपर  उजुरीको पत्र

उजुरीको पूर्णपाठ

श्री प्रमुखज्यू,

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टङ्गाल काठमाडौँ ।

विषय:  नियम विपरीत बैठक भत्ता र कमिसन लिएको छानबिन गरी कारबाही गरिदिनुहुन ।

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले एकपछि अर्को अनैतिक कामहरु गर्न थालेका छन् । यिनी सरकार मातहतका प्रतिस्ठानहरु डुबाउन उद्यत छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादी, नेपाल संगीत तथा नाट्य प्रज्ञामा प्रतिष्ठान नक्साल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्साल र भाषा आयोग शंखमूल लगायत ४ ओटा प्रतिष्ठानको रिक्त प्राज्ञ परिषद् र सभाको नियुक्ति र मनोनयनका निम्ति प्रधानमन्त्रीद्वारा गठित छुट्टाछुट्टै ३ ओटा समिति गठन गरेकामा सुदन किराँती संस्कृति मन्त्रीका हैसियतले सबैको तीनवटै समितिको संयोजक रहेका थिए । यस अघिको परम्परा, स्थापित नियमअनुसार मन्त्रीले कुनै पनि बैठकको भत्ता लिने गरेका थिएनन् । मन्त्री आफैँ संयोजक रहने, मन्त्रालयमा बैठक बस्ने र २ जना विज्ञलाई बैठक भत्ता दिने विगतको प्रचलनलाई मन्त्रीले लत्याएका छन् । पैसाका निम्ति मरिहत्ते गर्ने मन्त्री किराँती बैठक भत्ताका निम्ति प्रधानमन्त्री कार्यालय वा संस्कृति मन्त्रालयले दिनुपर्ने बैठक भत्ता बापतको रकम पनि सम्बन्धित प्रज्ञा–प्रतिष्ठानबाट लिँदा आफूले खाएको थाहा नहुने र मन्त्रालयमा रेकर्ड नरहने भन्दै सम्बद्ध प्रतिष्ठानबाट बैठक भत्ता लिएर बेइज्जती कमाइरहेका छन् । एउटा प्रज्ञा–प्रतिष्ठानबाट उनले ४० हजारभन्दा बढी बैठक भत्ता लिएका छन् । यिनले प्रतिष्ठानको कुलपति भएका भूपाल राई र एउटा समितिका सदस्य रहेका राकेश किराँतीको उक्साहटमा नियम विपरीत निर्णय गर्नेदेखि लाखौँ बैठक भत्ता खाने खुवाउने काम गरेका छन् । मन्त्रालयबाट प्रतिष्ठानहरुलाई पत्र लेखी बैठक भत्ता उपलब्ध गराउन निर्देशन दिएका मन्त्रीले आफ्नो बैठक भत्ता बैँकमार्फत् उपलब्ध गराउन कडा निर्देशन दिएका थिए । त्यही अनुसार प्रतिष्ठानको कर्मचारीले उनले उपलब्ध गराएको बैँक खातामा रकम दाखिला गरेका छन् । आदर्शका भाषण छाँट्ने मन्त्री किरातीले भत्ता खान यति विघ्न मरिहत्ते किन गरे भन्ने कुरा अनौठो रहेको छ । यसैगरी राष्ट्रिय जनसांस्कृतिक महासंघका का.वा. अध्यक्ष समेत रहेका भीम कुमाखीका मार्फतबाट मन्त्री किराँतीले नियुक्ति भएका तीनवटै प्रतिष्ठानका २९ जना पदाधिकारी र भाषा आयोगका अध्यक्षबाट प्रतिव्यक्ति २ लाख रुपियाँ कमिसन खाएका छन् । यसरी कमिसन मात्रै ६० लाख उनको खातामा जम्मा भएको देखिन्छ । त्यो पैसा लुकाउन उनले परिवारका सदस्यको खाता समेत प्रयोग गरेका छन् । अझ अनैतिक काम त मन्त्री किराँतीले आफू उपत्यका बाहिर बिराटनगर तथा झापाका कार्यक्रममा रहँदा पनि काठमाडौँमा बैठक बसेको भन्दै किर्ते सहीछाप गरेर बैठक भत्ता खाएको खुलेको छ । मन्त्री किरातीले हतार हतार नियुक्ति गर्न र बैठक सङ्ख्या पुर्‍याउन बिहान ५ बजे र आफू उपत्यका बाहिर रहेका बेलाको पनि बैठक देखाई अवैधानिक रूपमा नियुक्ति प्रक्रिया अगाडि बढाइएको पाइएको छ । सिफारिस समिति बनेकै दिन २०७९ माघ २९ गते बेलुका र भोलिपल्ट फागुन १ गते बिहान ६:०० बजेदेखि ८ बजेसम्म भिन्न भिन्नै प्रतिष्ठानका बैठक बसेको देखाएका मन्त्री किराँती ८:५० बजेको यती एयरलाइन्सको हवाइजहाजबाट विराटनगर गएका थिए । टिकट तल राखिएको छ । विराटनगर पुगेपछि उनले विराटनगर टर्मिनल भवनको उद्घाटन र दिनभर जनयुद्ध दिवसका कार्यक्रममा मोरङका विभिन्न ठाउँमा सहभागी भई राती मिक्लाजुङ रमिते खोलाको भानुभक्त होटलमा गई बास बसेको थिए । त्यसै बेलाको गोरखापत्रको समाचारले प्रष्ट हुन्छ । भोलिपल्ट पनि विभिन्न कार्यक्रममा भाग लिएर मन्त्री किराती फागुन २ गते अपराह्न ४: १५ बजे मात्र बुद्ध एयरमा भद्रपुरबाट काठमाडौँ आएका हुन् । बुद्ध एयरको टिकटबाट प्रष्ट हुन्छ । यता बैठक सङ्ख्या पुर्‍याउन र रोष्टर तथा कार्यविधि निर्माण गरी पारित गर्न बैठक देखाउनुपर्ने भएकाले उनी उपत्यका बाहिर रहेकै बेला २ गते बिहान ५ बजे नै नेपाल प्रज्ञा–प्रतिष्ठान र त्यसपछि बिहानै अरू दुई प्रतिष्ठानका पनि काठमाडौँमा बैठक बसेको देखाइएको छ । त्यो कुरा माइन्यूटबाट प्रस्ट हुन्छ । यसरी आफू उपत्यका बाहिर रहेको बेलाको पनि ‘ब्याक डेट’ मा सही गरी मन्त्री किरातीले मन्त्रालयबाट पत्र लेख्न लगाई सम्बन्धित प्रज्ञा–प्रतिष्ठाहरूबाट भत्ता लिनु अख्तियारको चरम दुरुपयोग हो । राज्यको उच्च नेतृत्वमा रहेका संस्कृति मन्त्रीजस्तो व्यक्तिले यस्तो कार्य गर्नु अख्तियारको दुरुपयोग मात्र नभई घोर अनैतिक र लज्जाजनक कुरा पनि हो । मन्त्रीको सिफारिसलाई विश्वास गरी तीनवटै प्रतिष्ठानका सिफारिसहरूलाई छलफल वा परिमार्जन नै नगरी एकैपटक सोही दिन प्रधानमन्त्रीबाट स्वीकृत भएको देखिन्छ । मन्त्रीका अनैतिक कार्यका सम्बन्धी लोकसंवादले २०८० जेठ १ गते ले प्रकाशन गरेको 'भाइरल मन्त्री किराँतीका अनैतिक कार्य: प्रज्ञा-प्रतिष्ठानहरूको नियुक्ति प्रक्रिया नै किर्ते !? शीर्षकको समाचार विस्तृत रुपमा हेर्नुहुन समेत अनुरोध गर्दछु । यस्तो अनैतिक कार्य गर्ने मन्त्री सुदन किराँतीलाई कारबाही गरी अनैतिक रुपमा लिएको भत्ता फिर्ता गराउन र नियमविपरीत किर्ते सहीछाप गरी भएको निर्णय खारेज गर्न माग गर्दछौँ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि