नेपाल–भारतबीच भौगोलिक,संस्कृति र सभ्यताको सामिप्यता रहेको छ – डा.राजन 

Jan 25, 2024 - 19:00
Jan 25, 2024 - 19:01
 0  8
नेपाल–भारतबीच भौगोलिक,संस्कृति र सभ्यताको सामिप्यता रहेको छ – डा.राजन 

माघ ११,काठमाडौं, काव्य घर । नेकपा (एमाले) का नेता एवं विदेश विभाग प्रमुख डा.राजन भट्टराईले आधुनिक नेपालको राजनीतिक आन्दोलनको जग भारतको स्वतन्त्रतासँग जोडिएको बताएका छन् । 
भारतको ७५औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित ‘नेपाल–भारत सम्बन्ध ः सम्भावना र चूनौति’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतको आन्दोलनको प्रभावस्वरुप नेपालमा तत्कालीन समयमा राजनीतिक परिवर्तन भएको बताए । उनले भारतको स्वतन्त्रता आन्दोलनमा नेपालका नेताहरु विश्वेश्वरप्रसाद कोइराला,मनमोहन अधिकारी,कृष्णप्रसाद भट्टराईलगायतका थुप्रै नेताहरुले आफूलाई सहभागी गराएका समेत स्मरण गरे । 


भारतको आन्दोलनको प्रभावस्वरुप राजनीतिक चेतनाको विकास भएर राणा शासनबाट नेपाललाई मुक्त गराउनु पर्छ भन्ने चेतनाले तत्कालीन नेपाली नेताहरु लागिपरेका उनले बताए । उनले नेपाललाई राणा शासनबाट मुक्त गराउनमा भारतीय स्वतन्त्रता आन्दोलनको ठूलो योगदान र प्रभाव रहेको बताए । 
उनले नेपाल–भारतबीच भौगोलिक, संस्कृति र सभ्यताको हिसाबले सामिप्यता रहेको बताए । साथै, ऐतिहासिक, राजनीतिक, आर्थिक सम्बन्ध, खुल्ला सीमाबाट लगायतका हिसाबले दुई देशबीच सम्बन्ध अत्यन्त घनिष्ठ र भावनात्मक सम्बन्ध पनि राम्रो रहँदै आएको समेत उनले बताए । 
नेता भट्टराईले भारतको ७५औं गणतन्त्र दिवसको अवसरमा भारतीय जनता र भारत सरकारलाई आफू र आफ्नो पार्टी एमालेको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरे । 


अहिले नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा भारतले ओगटेको बताउँदै उनले लगानी र नेपालको ठूला–ठूला पूर्वाधार विकासमा भारतको सहयोग रहेको स्मरण गराए । नेपालका दुई छिमेकी मुलुकहरु अहिले तीब्रतर समृद्धिको बाटोमा रहेका बताउँदै उनले दुई छिमेकी मुलुकहरुबाट नेपालले पनि सिक्न आवश्यक रहेको बताए । 


‘भारत अहिलेपनि हाम्रो झण्डै दुई तिहाइ वैदेशिक व्यापार, चाहे त्यो आयातको हिसाबले होस् वा निर्यातको हिसाबले होस् भारतनै हो । लगानीका हिसाबले भारत नेपालको पहिलो लगानीकर्ता मुलुक, अरु थुप्रै हिसाबले पनि भारत सरकारको सहयोगमा नेपालका थुप्रै पूर्वाधारका क्षेत्रहरुको विकास भएको छ । आर्थिक विकासमा भारतले सहयोग गरेको छ ।’ उनले भने, ‘छिमेक सम्पन्न हुँदा, छिमेक समृद्धिको दिशमा अगाडि बढ्दा, चाहे भारत बढोस्, चाहे चीन बढोस् । हाम्रा दुईवटा छिमेकी देशहरु उनीहरु समृद्धि र विकासको बाटोमा छन् । तीब्रतर आर्थिक विकासको प्रतिस्पर्धा गर्ने अवस्थामा उनीहरु पुगेका छन् ।’ 


नेता भट्टराईले नेपालले छिमेकी देशको तुलनामा विकास र समृद्धिमा किन पछि पर्यो भनेर सोच्न जरुरी रहेको बताए । उनले भारत र चीनले पहिल्याएको आर्थिक विकास र समृद्धिको बाटोलाई नेपालले.पनि अनुशरण गर्नुपर्ने आवश्यकत्ता औंल्याए । २०७४ सालको निर्वाचनपछि केपी ओली नेतृत्वको सरकारले देश र जनताको पक्षमा उल्लेख्य काम गरेको उनको दाबी छ । त्यसपछि बनेका सरकारका कारण छिमेकी मुलुक भारत, चीन, बंगलादेश, भुटान आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहँदा पनि नेपाल भने समृद्धिको दिशामा अगाडि बढ्न नसकेको बताए । अदालतले बनाइदिएको सरकार र नयाँ निर्वाचनपछि बनेको सरकारले मुलुकलाई छिमेकी मुलुकहरुले झैं संगसँगै प्रतिस्पर्धामा लान नसकेको उनको टिप्पणी छ । 
देशका समृद्धि र विकासका लागि संविधान र व्यवस्था, वातावरण, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति बाधक नरहँदा पनि मुलुकले गति लिन नसकेको उनले बताए ।

 
नेता भट्टराईले वर्तमान सरकार अल्मलिरहेको टिप्पणी गरे । अहिलेको सरकारले मुलुकको आर्थिक अवस्था न्युनतम खर्च गर्न सक्ने क्षमतासमेत गुमाएर कर्मचारीलाई तलब खुवाउनका लागि ऋण लिनुपर्ने अवस्थामा पुगेको बताए । प्रधानमन्त्री प्रचण्डले हरेक दिन कर्मचारी जम्मा पारेर निर्देशन दिइरहँदा कुनैपनि क्षेत्रमा सुधारको गति नदेखिएको उनको भनाइ छ । उनले वर्तमान सरकार एकपछि अर्को काण्डमा मुछिएको र पूर्ण रुपमा असफल भइसकेको दाबी गरे । युवाहरु कतिबेला १२ पास गरौं र विदेश जाउँ भनेर बसिरहेको उनले बताए । 


‘सरकार एकपछि अर्को काण्डमा मुछिएको छ । चौतर्फी असफल भइरहने, मुलुक संकटग्रस्त भइरहने, आम जनता र युवामा निराशा छाउने, निराशा क्रमशः आक्रोशमा परिणत हुँदै गएको छ ।’ उनले भने, ‘कतिखेर १२ पास गरौं र म मुलुक छोडौं भनेर युवाहरु पलायनको डरलाग्दो स्थिति देखापरिरहेको छ ।’ 
युवाहरुलाई विदेश पठाएर र त्यहाँबाट आएको रेमिट्यान्सले देश विकास नहुने उनको भनाइ छ । यस अवस्थाको निकास खोजिनुपर्ने उनले बताए । व्यवस्था र संविधानलाई दोष दिनुभन्दा पनि सरकारको बागडोर सम्हालेकाहरुले यसको जिम्मेवारी लिनुपर्ने र निकास दिनुपर्ने उनले बताए । 


अहिले देशको आर्थिक गतिविधि शून्य अवस्थामा रहेको र लगानीका लागि कोही तयार नरहेको उनले बताए । अहिले सबैमा आतंक रहेको र भ्रष्टाचार मौलाएको उनको आरोप छ । राजनीति बिग्रिँदा ५÷१० वर्षमा सुधार्न सकिएपनि अर्थतन्त्र बिग्रेको खण्डमा सुधार्न निकै लामो मेहनत गर्नुपर्ने भन्दै उनले देशको अर्थतन्त्र जोगाउनु अहिलेको आवश्यकता भएको बताए । नेता भट्टराईले वर्तमान सरकारले गठबन्धन जोगाउने भन्दा अर्को कुनै काम गर्न नसकेको बताए ।

 
वर्तमान सरकार असफल भइसकेको भन्दै उनले एमाले वैकल्पिक सरकार दिन तयारी अवस्थामा रहेको समेत संकेत गरे । सरकार चौतर्फी असफल भइरहँदा प्रतिपक्षले सरकारको गुणगान गाएर नबस्ने उनको भनाइ छ । 
‘हामी प्रमुख प्रतिपक्ष हौं । प्रमुख प्रतिपक्ष वेटिङ गभर्मेन्ट हो । सरकार सफलतापूर्वक अगाडि बढेको भएपनि त हेरौं, बेनिफिट अफ डाउट दिउँ भनौं । एकपछि अर्को असफलतामा सरकार हुने अनि प्रमुख प्रतिपक्षले चाहीँ ठीक भएको छ भनेर ताली बजाइदिनु्पर्ने नठानौं,’–उनले भने । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि