व्यङ्ग्य- मुसा र बिरालोको आन्दोलन -माधव पोखरेल गोज्याङ्ग्रे

आफू बसेको समाजलाई झुक्याएर धान खाने, दूध मासु चोर्ने प्रवृतिबाट सुधारको बाटोमा लाग्न नसकेका मुसा र बिरालाले हामीलाई सधैँ धोखा मात्र दिएका छन् । भनौँ समाजमा सधैँ धोखेबाजका रूपमा चिनिएका मुसा र बिरालाले ठुला ठूला घटनाहरु पनि घटाएका छन् देश र समाजमा । कतिपय मुसा बिरालाहरू समाजमा नाक मुख देखाउन नसक्ने गरी थलिएर बसेका छन् भने कतिपय जेलमा कोचिएर बसेका छन् । कतिपय राजनीतिक भविष्य नै धरापमा पारेर बसेका छन् । यस्ता खाले मुसा बिरालाको पछि लागेर हामी आफैँ धरापमा परेर मौन भएका छौँ ।  यो चाँहि हाम्रो गल्ती हो र आउँदा दिनमा पनि तिनै मुसा बिरालाको पछि लागेर जयजयकार मनाउँदै बस्ने हो भने हाम्रो घरजग्गा नै मुसा बिरालाले कब्जामा लिन बेर छैन ।

Oct 11, 2023 - 06:42
Oct 11, 2023 - 06:44
 0  29
व्यङ्ग्य- मुसा र बिरालोको आन्दोलन -माधव पोखरेल गोज्याङ्ग्रे

      सम्मेलन हामीे धेरै प्रकारका देखेका छौ, भेगेकाम छौँ  सहभागी भएका छौँ । मानव विकासकालागि गरिने सम्मेलनले व्यक्ति व्यक्तिलाई फाइदा हुने गरी काम गरिएको हुन्छ । सिङ्गो मानव समुदायको विकासमा कोसे ढुङ्गो हुने गरी सम्मेलन आयोजना गर्नु पर्नेमा व्यक्तिको विकास हुनेगरी भएको पाइन्छ । भनौँ यस्तो सम्मेलनले मुसार बिरालोको सम्मेलन भन्ने संकेत गरिरहेको हुन्छ । किनभने जसरी मुसा र बिराला एक अर्काका दुष्मनको संज्ञा पाएका छन् ठीक त्यसरी नै मानव विकासकालागि हुने सम्मेलनमा मुसा बिरालाहरूको जमातले स्थान पाएको हुन्छ ।
काम गर्दा कहिल्यै पनि नराम्रो काम नगर्ने भनेर सम्मेलनमा प्रतिवद्धता जाहेर गरे पनि मुसाले धान खान छाड्दैन भने बिरालोले दूध चोर्न छाड्दैन । यही प्रवृतिले हाम्रो समाजको विकासले निकास पाएको कुरा हामी सबैले स्वीकार गरेको अवस्था छ । अब मुसा र बिरालोले गर्ने आन्दोलनको कुरा गरौँ । आन्दोलन चाहे मान्छेले गरोस वा कुनै जनावर पशुपंक्षी किट पतङ जो सुकैले गरोस् त्यसमा स्वार्थ गाँसिएको हुन्छ । चाहे त्यसमा सामुहिक स्वार्थ होस् वा व्यक्तिवादी । जे भए पनि आन्दोलनमा लाग्नेले पापी पेट खाली राख्दैन । जहाँबाट जसरी भए पनि उसले पेट पूजाको होस् वा भेटघाटको भूजा होस वा कसैले लु जा भनेर दन्काए पनि त्यो पेटमा मुसाले आन्दोलन गरिहेको हुन्छ । अर्कोतिर बिरालो पनि मुसा खाने आन्दोलन गरिहेको हुन्छ भने मुसाले पनि धान खाने आन्दोलन गरिरहेको हुन्छ ।
अन्य देशमा मुसा र बिरालोले केकालागि कसरी आन्दोलन गर्छन भन्ने कुरामा जानुभन्दा पनि नेपालका मुसा बिरालाको आन्न्दोलनका बारेमा कुरा गर्नु राम्रो होला जस्तो लाग्छ । किनभने हामी नेपाली मुसा बिरालाबाट बढी पीडित छौँ । हामी मध्ये कतिपय सिंह, बाघ, भालु, चितुवाबाट पनि पीडित छौँ । गाउँघरमा बढी मुसा बिरालोबाट र शहर बजारमा सिंह, बाघ, भालु चितुवाबाट हामी आक्रान्त भएका छौँ । हिंस्रक भएर समाजमा आन्दोलन गर्ने र आफ्नै खती भएको हेर्न चाहने प्रवृति बढेको छ । 
सिंहदरबारमा बस्ने सिंहहरू मुसा बिरालाबाट नै पालिएका छन । त्यसैले उनीहरू मुसा बिरालालाई माया गर्छन । मुसा बिरालाले गर्ने आन्दालन नै सिंहहरूको सिंहासन बचाउनकालागि हो । माथि सिंहहरूको सिंहासन बचायो भने तल आफूहरूले जे जे गरे पनि छुट पाउने भएकोले गाउँतिरका मुसा बिराला आन्दोलनमा उत्रिएका हुन । यो आन्दोलनले कहिले पनि पूर्णता पाउँदैन । किनभने पुराना मुसा बिरालाले गरेको आन्दोलनलाई नयाँ मुसा बिरालाहरूले फरक तरिकाले आन्दोलन अघि बढाउँछन् । पुरानो तरिकाबाट आन्दोलन गर्दा पुरानाहरूको स्वार्थले चुचरो छाएपछि नयाँ मुसा बिरालाहरू भोकभोकै पर्न थालेपछि मुसा र बिराला बिचमा नै अर्को आन्दोलन चर्किन्छ । आ आफैमा आन्दोलन गर्दा आन्दोलनले सफलता नपाउने भएकोले नयाँ मुसा बिरालाहरूले नयाँ तरिकाले आन्दोलन गर्दा मुसाले धान खान पाउने छ । बिरालाले दूध चोर्न पाउने तर मुसा मार्न नपाउने नीति अवलम्वन गरिएको छ । 
नयाँ तरिकाको आन्दोलनभित्र मुसा र बिरालाले गरेको हर्कतले देश नै आतङ्कित भएको कुरा हामीले बिर्सने हो भने भोलिका दिनमा दिउसै हाम्रो घरमा मुसा र बिराला पसेर हामीलाई नाङ्गो बनाउने छन् । हामी आफैँ नाङ्गो भएको आफैले हेर्नु पर्ने अवस्था आउने छ । प्रशासन र राजनीतिलाई मुसा बिरालाले चपाएको अवस्थामा हामीले मुक दर्शक भएर हेर्ने काम बाहेक अरु केही गर्न सकेको छैनौँ । हामी ज्ञानी भएर देशको यो अवस्था आएको हो । यदि हामी अज्ञानी भएको भए मुसा बिरालाले यो हर्कत गर्न सक्ने हिम्मत गर्ने थिएनन् । 
सगरमाथाको टाउको पुगेर मुसा बिरालाले नाँच देखारहेको अवस्था छ यतिबेला नेपालमा । शासनका धुन्धुकारीहरू र सत्ताका साझेदारहरू ताली पिट्दै रमिता हेरेर बसेका छन् । उनीहरूले पिटेको ताली र रमिताको कुनै अर्थ छैन । समाजलाई खेलौना बनाएर मुसा र बिरालाले आफ्नो राजनीतिलाई सफल बनाएका छन् । धान चोर्ने र दूध  मासु खान पल्केको मुसा बिरालोको असली चरित्र देखापरेको छ । हाम्रो आँगनमा लम्पसार परेर बेपत्ता हुने मुसा बिरालाले हामीलाई झुक्याउनुसम्म झुक्याएको छ । एक पटकमात्र होइन पटक पटक नै हामीलाई झुक्याएर रछ्यानमा मिल्काउने काम गरेको कुरा हाम्रो दिमागबाट बाहिरीन सकेको छैन । बिरालाले मुसालाई खेलाए झै गरी मुसा र बिरालो मिलेर हामीलाई जिस्क्याएर, खेलाएर अस्तित्वहीन बनाउने काम गरेको कही कतैबाट पनि लुक्न सकेको छैन । भनौ मुसा र बिरालोको आन्दोलन हामी निरीह जनताको हुर्मत लिनकालागि हो भन्दा कुनै फरक पर्दैन । यो संस्कारले आज हामी निरीह जनतालाई असर परे पनि भोलिका दिनमा आज हामीलाई झुक्याउने मुसा बिरालालाई कुवाँ भित्रको भ्यागुतोको जस्तो अवस्थामा राख्न सक्ने तागत र शक्ति जनताले देखाउने छन् । 
हामीलाई चिथोर्न, हाम्रो चोक्टा खान र हामीलाई अस्तित्वहीन बनाउन मुसा र बिरालाले जुन रणनीति अपनाएका छन् त्यो धेरै समय टिक्न सक्दैन भन्ने कुरा मुसा बिरालाले बुझेका होलान् । प्वालभित्र बसेर मुसाले गरेको रजाइँ  र मुसालाई ढुकेर भकारीभित्र बसेको बिरालोले प्राणी मध्येका सबैभन्दा श्रेष्ठ मानिएको मानवलाई छक््याउन सक्नु भनेको चतुर राजनीतिको एउटा उदाहरण हो भन्न सकिन्छ ।
हामीले देखेका सयौँ आन्दोलन मध्ये मुसा र बिरालाको आन्दोलन नै सबैभन्दा लामो आन्दोलन भएको छ । कहिले पनि नटुङ्गिने यो आन्दोलनले सायद नेपाललाई समाप्त पार्ने संकेत हो भन्दा फरक पर्दैन । नेपाली जनतालाई ऋण बोकाएर मुसा बिरालाहरू देशमा कुर्लने र देशभरी प्वालै प्वाल पारेर जतालाई त्यही प्वालमा राखेर आफूखुशी आसनमा बसेर शासन गर्ने नियत देखिएको छ । भोलि जनताले मुसा बिरालालाई नै मुसाको प्वालमा हालेर बाहिरबाट आगो लगाए भने के हालत होला भन्ने सोच भएको भए आज मुसा बिरालाले आफ्नो हर्कतलाई सुधारेर समाजका सामु चा चा चूँ चूँ र म्याउ म्याउ गर्ने तरिका नै फेर्न सक्थे होलान् ।
साँच्चै भन्ने हो भने नेपाली र नेपालको भाग्य नै यि मुसा र बिरालाले च्यातेर, चिथोरेर नास पारेका छन् । बन्दुकको नालबाट निस्केको गोली जस्तो बोली र समाजमा देखाउने क्षुद्र व्यवहारले अब चाँहि मुसा र बिरालाको दिन गए जस्तो लाग्छ । समाजमा बसेर सधैँ छुल्याइँ गरिरहने र मान सममान पनि पाउने आशा भरोसाको आधार नै भाँचिएपछि मुसा बिरालाहरू अडिने आधार नै हुँदैन । हामीले हाम्रा दुष्मनका रूपमा रहेका मुसा बिरालालाई हाम्रो समाजबाट सदाकालागि डाँडा कटाउनेतिर लाग्नु भन्दा पनि उचित व्यवस्थापनमा लाग्नु राम्रो होला  । डाँडा कटाउँदा पुनः फर्केर आउन सक्ने भएकोले समाजमै माथि उठ्न नसक्ने गरी व्यवसथापन गर्नेतिर पाइला चाल्नु  पर्दछ । 
आफू बसेको समाजलाई झुक्याएर धान खाने, दूध मासु चोर्ने प्रवृतिबाट सुधारको बाटोमा लाग्न नसकेका मुसा र बिरालाले हामीलाई सधैँ धोखा मात्र दिएका छन् । भनौँ समाजमा सधैँ धोखेबाजका रूपमा चिनिएका मुसा र बिरालाले ठुला ठूला घटनाहरु पनि घटाएका छन् देश र समाजमा । कतिपय मुसा बिरालाहरू समाजमा नाक मुख देखाउन नसक्ने गरी थलिएर बसेका छन् भने कतिपय जेलमा कोचिएर बसेका छन् । कतिपय राजनीतिक भविष्य नै धरापमा पारेर बसेका छन् । यस्ता खाले मुसा बिरालाको पछि लागेर हामी आफैँ धरापमा परेर मौन भएका छौँ ।  यो चाँहि हाम्रो गल्ती हो र आउँदा दिनमा पनि तिनै मुसा बिरालाको पछि लागेर जयजयकार मनाउँदै बस्ने हो भने हाम्रो घरजग्गा नै मुसा बिरालाले कब्जामा लिन बेर छैन ।
आज मुसा बिरालाका सन्तानले जसरी हामीलाई पेलेका छन् भोलिका दिनमा पनि त्यसरी नै हामी र हाम्रा सन्ततिलाई मुसा बिरालाको दास भएर पेल्छन र पेलिन्छौँ । साँच्चै भन्ने हो भने मुसा र बिराला दुबै समाजमा चोर भनेर चिनिएका छन र कहलिएका छन् । चोरका सन्तान चोर नै हुन्छन भन्ने प्रमाण पनि हामीले पाएका छौँ । मुसा र बिरालाले यो प्रमाण जति सुकै नष्ट गरे पनि नष्ट हुँदैन र जस्तो सुकै ठाउँमा लुकाए पनि लुक्दैन । गधालाई साबुन पानीले नुहाई दिए पनि गाई बन्न नसक्ने ध्रुव सत्य उखान झैँ मुसा र बिराला कहिले पनि इमान्दार बन्न नसक्ने ध्रुव सत्य हो । यस्ता चोरका संगत गर्ने हामी कहिले उभो लाग्नु अब ! मुसा र बिरालाको आफ्नो जातीय व्यवसाय भन्नु नै चोरेर खानु हो । यो परम्परागत पेशाबाट मुसा बिराला माथि उठ्न सकेको छैनन् । 
अझ भन्ने हो भने हामी घरमा बिरालो पालेर राख्छौँ । हिंस्रक जातको बिरालो घरमा पालेको फाइदा केही पनि देखिदैन । मुसा मार्छ भनौँ भने मुसा देखेर बिरालो आफैँ तर्सेर भाग्छ । यो महंगीको दूध र भात खुवाएर बिरालालाई पाहुना जस्तो गरेर पाल्नु हाम्रो नैतिकताले दिंदैन । तर केही मान्छेहरू भने आफैँलाई घाटामा पार्ने बिरालो पालेर समाजमा नाक ठाडो पारेर बसेका छन् । भनौँ समाजमा मुसा र बिरालोको आन्दोलनको अर्थ नबुझ्नेहरूले कुप्रवृतिर  कुसंस्कार वालेर आफूलाई विश्वकै सबैभन्दा बढी बुद्धिमानी ठानेका छन् ।
मुसा र बिरालाको आन्दोलनका बारेमा धेरै के लेखौँ । नेपालीले मुसा बिरालाको कब्जाबाट मुक्त भएको दिन कहिले आउँछ हेर्न बाँकी छ । समाजबाट लखेटिएर मुसा र बिरालाहरूले सोमालिया वा कंगोमा शरण लिएर बसेको हेर्न मन लागेको छ । यो मेरो मात्र होइन ती करोड नेपालीको इच्छा र चाहना पनि हो । देश बिगार्ने मुसा र बिरालाका विरुद्धको  
हाम्रो अभियान सफ होस् । हामीलाई हाम्रै तर्फबाट सफलताको शुभकामना । 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि