कविता– जीवनहरि शर्मा –भानु तिमी सारथि

Jul 14, 2023 - 08:31
 0  45
कविता– जीवनहरि शर्मा –भानु तिमी सारथि


भाषा हुन्छ नदी प्रवाह सरिको सङ्लो सदा कञ्चन
मान्छे देव दया समस्त  बिचको बोली तथा चिन्तन
साँच्चै भानु तिमी भएर अगुवा स्रष्टा ठुला साधकी
नेपाली जनका अगाध ममता सञ्चारका  सारथि ।।

भाषा माध्यम बोलचाल सबको हो एकताको बिउ
रोपे वृक्ष सुयोग्य आदिकविले सम्मानले सम्झिऊँ
देखेको जति प्रस्ट लेख्न कसिने गाउन्नथे आरती
धेरै त्याग गरेर दीपक बन्यौ भाषा कला  सारथि ।।

नेपाली मनका भयौ ढुकढुकी आत्मा बन्यौ देहका
तिम्रो गान कदापि हैन पनि यो गाँठी थियौ ध्येयका
जस्तो तथ्य छ टिप्न सक्षम तिमी हौ काव्यका पारखी
आफैँ व्यङ्ग्य थियौ सधैँ कलममा यै छन्दका सारथि।।

सारा काव्यहरू त्यसै समयका आधार खम्बा बने
धोका दिन्छ भने त्यही बखतमा  निर्धक्क नैगर्जने
बस्ती टोल र गाउँ वा सहरका हामी सबै सन्तति
लाखौँ छौ उनका पछाडि हिँडने हाम्रा तिमी सारथि।।

तिम्रा लागि हुनेछ न्याय अझ झन् संसारमा पुज्य छौ
बस्छौ भित्र गढेर यो हृदयमा पुज्ने  महादेव हौ
तिम्रै कारण आज काव्य कविता साहित्यको उन्नति
आमाका सुत श्रेष्ठ यै अवनिका सम्पूर्णका सारथि।।
  इलाम ,नेपाल।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि