सुर्य बिनाय रत्नपार्क द्रुत बस सेवा आजबाट शुरु

Sep 20, 2023 - 09:46
 0  8
सुर्य बिनाय रत्नपार्क द्रुत बस सेवा आजबाट शुरु

भदौ  ३ काठमाडौं , काव्य घर / सरकारले काठमाडौं उपत्यकामा पहिलोपटक द्रुत बस सेवा सुरु गरेको छ । आज संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा एक कार्यक्रमको आयोजना गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गर्नुभएको हो ।

द्रुत बस सेवाका बस भोलिदेखि सर्वसाधारण यात्रुको सेवामा रत्नपार्क सूर्यविनायक रुटमा चल्ने छन् । उदघाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चापागाई बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर , मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयरहरु चढेर यात्रा प्रारम्भ गर्नुभएको थियो । सार्वजनिक बसलाई रत्नपार्क सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ । माइतीघर, कोटेश्वर, जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिन नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन् ।

द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५ मिनेटको फरकमा छुट्नेछन् । ती बसहरु रातो रंगले पोतिएको लेनमा मात्र चल्ने छन् । यी लेनहरुमा दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् । द्रुत बस सेवाको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले द्रुत बस सेवा रत्नपार्क- सूर्य विनायक सम्म मात्रै सीमित नरहने बताउनु भयो । उहाँले द्रुत बस सेवा सूर्यविनायक- रत्नपार्क रुटमा मात्रै सीमित नहुने भन्दै सरकारले एयरपोर्ट, रिङरोड, नागढुङ्गा, ललितपुर, बालाजु, महाराजगन्ज र चाबहिल क्षेत्रमा पनि बिस्तारै सेबा बिस्तार गर्दै लैजाने प्रतिबद्धता जनाउनु भयो ।

बिहान र बेलुका अफिस समयमा धेरै यात्रुको चाप हुने र धेरै बसहरूको आवश्यकतालाई ध्यानमा राखेर यात्रुहरूको सहजताको लागि बिहान- बेलुका दुई- दुई घण्टा द्रुत बस सेवा शुभारम्भ गरिएको भन्दै द्रुत बस सेवालाई सरकारले विस्तार मात्रै नभएर निरन्तरता दिने समेत बताउनु भयो । द्रुत बस सेवा सरकारले आज जुन उत्साहका साथ सुरु गरेको र त्यही उत्साह निरन्तर रूपमा सधैँको निम्ति रहने गरी यो कामलाई अगाडि बढाउने साथै सेवालाई सरकारले निरन्तर अनुगमन र फलोअप गर्दै जाने र कुनै पनि अवस्थामा अवरोध नपुग्ने गरी निरन्तरता दिने प्रतिबद्धता जनाउनु भयो । यातायात व्यवस्था विभाग, सडक विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघले द्रुत बस सेवा सञ्चालन गर्न थालेका हुन् । पहिलो चरणमा सूर्यविनायक- रत्नपार्क क्षेत्रमा २५ वटा ३९ भन्दा बढी सिट क्षमता भएका बसका लागि १९ वटा स्टप कायम गरिएको छ । ती स्टपमा यात्रुलाई झार्ने र चढाउने गरिनेछ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग ३९ भन्दा बढी सिट क्षमता भएका २५ वटा नयाँ बस उपलब्ध गराउनेबारे सम्झौता भइसकेको छ ।

 बसमा अन्य सार्वजनिक बससरह नै भाडा लाग्नेछ । सडक विभागले द्रुत बस सञ्चालन गर्ने लेन नै छुट्याएको छ । भइरहेकै सडकको लेनमा मार्किङ तथा ठुल्ठूला अक्षरमा द्रुत बस गुड्ने लेनबारे जानकारी दिइनेछ । विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार तिनकुने - माइतीघर क्षेत्रमा सर्भिस लेनको देब्रे साइट, कोटेश्वर चोकआसपासमा मुख्य लेनको देब्रे साइट, कोटेश्वरदेखि जडीबुटी सम्म सर्भिस लेनको देब्रे साइट, जडीबुटीदेखि सूर्यविनायकसम्म मुख्य लेनको देब्रे साइट र माइतीघर- रत्नपार्क क्षेत्रमा मुख्य लेनको देब्रे साइटबाट द्रुत बस गुड्नेछन् । द्रुत बस जहाँ पायो त्यही रोकिनेछैन । यो बस अन्य सार्वजनिक सवारीसाधनका लागि बनाइएका सबै स्टपमा पनि नरोकीने बताईएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि