लघुकथा– मेहन्दी रसम रे ! जलेश्वरी श्रेष्ठ
मेरो साथीको नातिनीको मेहन्दीको रसम रे ! कहाँको चलन ? के के चलन ? मलाई त थाह नै छैन । अहिले खुब चलेको छ । हिन्दी सिरियलको नक्कल हो यो । संसारमा सबैभन्दा गरिब देश नेपाल भन्छन् । यही देशमा चाहिने नचाहिने भोजभत्तेर गर्न कहाँबाट आएको होला पैसा ? अचम्म लाग्छ । जान त मन छैन तर साथीले धेरै कर गरिन् गएँ ।
पूmल मेकअपमा महङ्गा महङ्गा जामा, लेहेङ्गा, सारीहरु लगाएका देखेर इन्द्रको दरवारमा अप्सराहरु जस्तै लाग्यो । सबै जनाले मेहन्दी धमाधम लगाइरहेका रहेछन् । दुलहीका दुवै हातमा र दुबै खुटट्मा लगाइएको रहेछ । एकजनालाई एउटा हातमा लगाएको मूल्य दुईसय रुपैयाँ रे । धेरै जसोले एउटा हातमा मात्र लगाए । मैले पनि देब्रे हातमा मात्र लाएँ ।
पहिले पहिले तिउरी लगाएको हातले देवतालाई पूजा चल्दैन भन्नुुुहुन्थ्यो । त्यसैले गठेमङ्गलको दिनमा दाहिने हातमा लाइँदैनथ्यो। यो मेहन्दीलाई जति वढी समय राख्यो उति गाढा बस्छ भनेर देब्रे हात नचलाइकन राखेँ ।
नाँचगान गरि भोज खाएर घर फर्किए । म घर फर्किए देखि कोठामा एक किसिमको कुहिएको चीजको जस्तो गन्ध आयो । भोलिपल्ट पनि विहान देखि जहाँ गए पनि त्यही नमिठो कुहिएको गन्ध आइरह्यो । घरमा कतै मुसा मरिरहेको छ कि जस्तो पीर लाग्यो । सबै ठाउँमा खोजे । पछि कतै भेटिएन । त्यसपछि नुहाउँन बाथरुपमा पसेँ । हात यसो धुन्छु त झनै गनायो । यसो देब्रे हातमा हेरेको त जतन गरी राखेको मेहन्दी पो गनाएको रहेछ । सावुन पानीले मिचीमिची हात धोएपछि बल्ल गन्ध गयो । हातमा हेर्छु त राम्रो बुट्टाका रेखी पनि हो कि होइनजस्तो बसेको रहेछ । मेहन्दीवालाले कुहिएको मेहन्दी लगाई दिएर ठगिरहेको अरुलाई थाह भयो कि भएन ?
What's Your Reaction?