शम्भु गजुरेल- नयाँ नेपाल प्रज्ञाप्रतिष्ठान र प्रगतिशीलताको मार्ग !

Dec 18, 2023 - 00:40
 0  17
शम्भु गजुरेल- नयाँ नेपाल प्रज्ञाप्रतिष्ठान र प्रगतिशीलताको मार्ग !
प्रज्ञाप्रतिष्ठानको स्थापना वि. सं. २०१४ साल असार ९ गते भएर पछि वि. सं. २०२४ सालमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान बनेको र गणतन्त्र आएपछि यो संस्थाको नाम नेपाल प्रज्ञाप्रतिष्ठान हुनगयो। के प्रज्ञाप्रतिष्ठानको नाम मात्रै परिवर्तन भएको हो? प्रश्न गम्भीर छ! प्रतिष्ठानले स्थापना भएदेखि केही न केही राम्रा र उध्येस्य पुर्तितर्फ लाग्ने जमर्को नगरेको पनि होइन, वैचारिक रूपमा कहिल्यै स्वतन्त्र हुन नसकेको प्रतिष्ठानमा नेतृत्व गर्ने विभिन्न व्यक्ति र प्राज्ञबाट उल्लेख्य कार्य भएका पनि छन् ।
पुरानो समयमा साधन श्रोत र आर्थिक कठिनाइ अनि राजनैतिक दबाबलाई झेलेर पनि प्रज्ञाप्रतिष्ठानको गरिमामा विकृत दाग लाग्न नदिन नेतृत्व सजग रहेको पनि देखिन्थ्यो, आवरणीय कार्यको निष्पक्षतामा औंला ठड्याउने ठाउँ मनग्ये थिए तर कर्तव्यबोध वा प्राज्ञीक मर्यादाले केही हदसम्म कार्य सम्पादन गर्नैपर्ने परिस्थिति बनेर वा भविस्यको पिँढीको लज्जाबोधले भएपनि धेरै काम भएका पाइन्छन् ।
कार्य मूल्यांकनको कसौटीमा वर्तमान प्राज्ञसभालाई घिस्ने बेला त भएको छैन होला तर पनि निवर्तमान प्राज्ञसभाको उचित र गर्नैपर्ने कार्यलाइ निरन्तरता नदिनु र नयाँ प्रगतिशील कार्यको थालनी गर्न नसक्नु अनि शुरुआतमा नै वृहत् समूह सहित रारा भ्रमण जस्तो खर्चिलो यात्रामा विलासिनुले सभाको गन्तव्यको झल्को दिएर पहिलो गाँसमा ढुङ्गा लागेको हो ।
निवर्तमान प्राज्ञसभाले २०१४ सालदेखि २०७५ सालसम्म प्रकाशित भएका तर पुनःप्रकाशन नभएका भरतमुनिको नाट्यशास्त्र, कौटिल्यको अर्थशास्त्र, अमरकोष, नेपाली निघण्टु, पाश्चात्य काव्यशास्त्र, पूर्वीय काव्यशास्त्र, साहित्य परिचयकोशलगायतका १५० वटा ऐतिहासिक महत्त्वका पुस्तकहरूको पुनः प्रकाशन गरेको थियो!
नेपाली शब्दकोशलाई एक लाख अट्ठाइस हजार शब्द भएको शब्दकोश निर्माण र प्रकाशन गरेको थियो । नेपाली दर्शन, प्रज्ञा नेपाली लोककथा, लोकसाहित्य सिद्धान्त, नेपाली लोकविश्वास, प्रज्ञा शैक्षणिक व्याकरण, उत्तरअमेरिकी नेपाली कविता, भारतीय नेपाली कविता, पुनर्वासपछिका भुटानी नेपाली कविता, मातृभाषा साहित्यको इतिहासलगायतका २०० वटा भन्दा धेरै नयाँ पुस्तकको प्रकाशन गरेको थियो । ४ वर्षको कार्यकालमा पुराना र नयाँ गरी ३५० वटा भन्दा धेरै पुस्तकको प्रकाशन गरेको थियो।
साथै
देवकोटाको सङ्ग्रहालय निर्माण ,
शब्दकोशको मोबाइल एप निर्माण ,
अनलाइन हलबुकिङ तथा वेबसाइट निर्माण ,
बालबालिका लक्ष्यित "बालप्रज्ञा" पत्रिकाको थालनी,
गजल महोत्सव र बालकविता महोत्सवको थालनी ,
साहित्यकार परिचयपत्र वितरणको थालनी , जस्ता काम गरेको निवर्तमान प्राज्ञसभाको कार्यलाइ निरन्तरताको खाँचो र अन्य सुधारको आवस्यकता थियो तर "बालप्रगज्ञा"लाई लालपाते बनाउने , गजल र बालकविता महोत्सव रोक्ने अनि साहित्यकार परिचयपत्र वितरण रोक्ने कार्य वर्तमानमा भएको छ ।
उपरोक्त बाहेक अहिलेको परिषद्ले विराम लगाएको केही कामहरू :
सनातन संस्कृति विश्वकोश (१४०० पृष्ठ)
नेपाली कविताको प्रादेशिक इतिहास (९०० पृष्ठ)
नेपाली बालसाहित्यको इतिहास (८८० पृष्ठ)
लेखक/साहित्यकार परिचयकोष (५५०० लेखकको परिचय)
साथै अन्य अनुसन्धानमूलक र ऐतिहासिक महत्त्वका ३ दर्जन भन्दा धेरै पुस्तकहरू छपाइमा रोक लगाएर रोकिएको बुझिन्छ ।
अग्रगमनको हुटहुटी बजाएर केवल परम्परा भत्काउनु अहिलेको विशेषता बन्दै गएको देखिन्छ,
२०२२ देखि चल्दै आएको कविता महोत्सवलाई मातृभाषा कविता महोत्सव बनाउनु, युगकवि सिद्धिचरणले सुरु गरेको "कविता" पत्रिकालाई अहिले "कविता/कविता" बनाएर प्रकाशन गरी इतिहास मेटाउने प्रयास गर्नु, "बालप्रज्ञा"लाई "लालपाते" बनाएर शब्दमा स्वामी भक्त बन्ने प्रयास बाहेक नवीन कार्य केही देखिन्न ।
०१४ सालको संक्रमित अबस्थामा जन्मेर राजतन्त्र अनि प्रजातन्त्र हुँदै गणतन्त्र सम्म आइपुगेको राष्ट्रको आवाज र मस्तिष्कको रूपमा विकसित हुनुपर्ने प्रज्ञाप्रतिष्ठान केवल राजनैतिक खेतालाको ज्याला कमाउने कार्यशालाको रूपमा नै प्रयोग भएको देख्दा चेतना भएका मानवीय आत्मामा चोट पुगेको छ ।
समग्रमा सिंहावलोकन गर्दा समस्त प्राज्ञसभामा निवर्तमान प्राज्ञसभा तुलनात्मक रूपमा आफ्नो कार्यकालमा धेरै काम गर्नेमा देखिन्छ तर वर्तमान प्राज्ञसभाले थालिएका कार्यलाई बन्दीगृहमा राख्नुमा प्रगतिशील कार्य ठानेर सोहीपथ तर्फ लाग्न खोज्दैमा मार्ग अलमलिएको अनुभूति हुँदैछ । समस्त लेखक, कवि, साहित्यकारको लेखकीय दक्षताको कदर गर्दै सम्पूर्ण अक्षरका पारखीहरूको सम्मान गर्न विफल भएको स्पष्ट देखिन्छ। आशा गरौँ अबको बाँकी समयमा यो सभा सबैको साझा र भाषा साहित्यको आफ्नो बन्न सकोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि