समीक्षा -कवि जीवनहरि शर्माका बारेमा -शलील ज्ञवाली,सिलाङ(भारत)

Aug 25, 2023 - 15:50
 0  4
समीक्षा -कवि जीवनहरि शर्माका बारेमा -शलील ज्ञवाली,सिलाङ(भारत)

कवि जीवनहरि शर्मा एक सुपरिचित नेपाली भाषा साहित्यका कविता विधा (छन्द)का अग्रज स्रष्टा एवम् शुभ चिन्तक हुनुहुन्छ। पूर्वी नेपाल ,इलाम जिल्लाको सुम्बेकमा जन्मे हुर्केका शर्माले आफ्नै जिल्लाबाट उच्च शिक्षा ग्रहण गर्नु भएको हो।पिता पण्डित तुलसीराम पोख्रेल तथा माता मानमाया पोख्रेलको कनिष्ठ कोखबाट जन्मनु भएका शर्मा सानै देखि तीक्ष्ण बुद्धिका हुनुहुन्थ्यो।केही गरौँ भन्ने भावना बोकेका व्यक्तित्व उहाँ नेपाली छन्द आकाशका एक सशक्त अभियन्ताको रूपमा सुपरिचित हुनुहुन्छ। वहाँले आजसम्म आउँदा ५ वटा विभिन्न विधाका छन्दका कृति प्रकशित गरिसक्नु भएको छ भने अनेकौँ कृतिहरू प्रकाशन गर्न तयारीमा भएको बुझिन्छ।उहाँले आफ्नो jibanhari sharma(जीवनहरि शर्मा) युट्युव च्यानलमा विभिन्न छन्दका सङ्गीतमय रचना,काव्य र छन्दका कक्षाहरू समेत राख्नु भएको छ र राखिरहनु भएको पनि छ।छन्द सिक्न चाहनेहरूका लागि यी कक्षाहरू ज्यादै लाभप्रद रहेको बुझिएको छ।आफ्नो मातृ भाषा र देशको अगाध श्रद्धा र ममता प्रकट भएका उहाँका काव्यहरू गौरवमय अतीत र मानवतावादी परम्परा र आफ्नै माटोमा पुष्पित र पल्लवित ज्ञान ,बुद्धि विद्वत्ता परम्पराले सिञ्चित वर्तमानप्रति शर्मा ठुलो गौरव गर्नुहुन्छ । वि सं २०४२ देखि लेखन शुरु गर्नु भएका छन्दवादी कविका रूपमै लेखन प्रवेश गर्नुहुने शर्माका अनेक रचना राष्ट्रिय र अन्तराष्ट्रिय प्रकाशनहरूमा निरन्तर आउने गरेक छन्।उहाँका रचनाका पाठकले उहाँप्रति सधैँ श्रद्धा र प्रशंसा प्रकट गरेको पाइन्छ।शर्मा छन्दका रचनाका अतिरिक्त कृतिहरूको सम्पादन,समीक्षाका साथमा गद्य कविता ,लेखहरू,मुक्तक,हाइकु,खोरिया र सुसेलीहरूमा पनि कलम चलाउनु हुन्छ।उहाँका परिवारहरू सबै जसो यही कर्ममा अर्थात् कोही लेखन कोही गायन र कोही वाद्यवादनमा संलग्न हुनुहुन्छ।सबकोही यसरी भाषा साहित्यको सेवामा लाग्नै सक्दैन त्यसमा पनि सपरिवार यस्तो स्तुत्य कार्यमा लाग्नु चानचुने कुरा होइन। शर्मा सदैव सत्य,धर्म ,निष्ठा र सुमार्गका अनन्य अनुयायी त हुँदैहुनु हुन्छ।उहाँको अन्तर हृदयमा पूर्वीय विद्वत्ताको वैश्विक महत्त्वलाई छन्द कविताका माध्यमबाट समाज, राष्ट्र र अन्तराष्ट्रिय जगत् लाई सुपरिचित गराउदै लैजानु प्रमुख लक्ष्य स्थापित भएको पाइन्छ। उहाँले यो मेरो पूर्वीय सभ्यताको ग्रन्थ माथि गहिरो अध्ययन गरी अत्यन्त मिहिनेत र दृढता पूर्वक नेपाली छन्दमा रूपान्तरण गरी काव्य निर्माण गर्नुले उहाँको छन्द प्रतिको लगाव र दखल कति छ भन्ने कुरा स्वतः सिद्ध हुन्छ।अधिकांश अङ्ग्रेजी नामहरू जो छन्दमा मिलाउन लर्तरो अभ्यासले सक्ने त कल्पना बाहिरको कुरा हो।तर मलाई लाग्छ उहाँले सहजताका साथ यो पद्यमाला बनाउनु भयो।यस कामको जति प्रशंसा गरे पनि शब्दहरू अभाव नै हुन्छन् ।

 अवस्य यो विश्वमा जति पनि पूर्वीय सभ्यताका अनुयायी तथा यस सभ्यतालाई मन पराउने व्यक्तित्व हुनुहुन्छ यो कृति एउटा मन्त्रमाला नै हुन्छ भन्ने कुरामा म विश्वस्त छु।आधुनिकताको मूल जरो कहाँ थियो अनि हामी कहाँ छौँ र के गरिरहेका छौँ ।हाम्रा पूर्वजहरू को थिए र उनीहरूले हामीलाई के दिएर गएका रहेछन् ।हामीले किन बुझेनौँ अनि पश्चिमी विद्वान् हरूले कसरी बुझे भन्ने विषयमा पक्कै यो काव्यले हामी सबैलाई सविनय सुसुचित गराउला भन्ने महान् र दृढ अपेक्षा राख्नु भएको छ कवि शर्माले भने मैले पनि यही आशा र विश्वास राखेको छु। कवि जीवनहरि शर्मालाई नामबाट उहाँसँग भेट नहुँदा नै थोरै त म चिन्थेँ ।तर भानु जयन्ती २०२२का अवसरमा सिक्किममा हामी दुईको संयोगले भेट हुनपुग्यो।उहाँ इलामबाट छन्द कविको रूपमा र म सिलाङ्बाट एक लेखकको रूपमा त्यहाँ त्यस कार्यक्रममा अतिथिको रूपमा उपस्थित थियौँ। एक आपसमा चिनजान गर्नेकाम गर्यौँ र हामीले आआफ्ना रचना साटासाट गर्यौँ ।त्यस अवसरमा मैले मेरो पूर्वीय सभ्यता विश्वविख्यात विद्वान्का दृष्टिमा भन्ने कृति शर्मालाई दिएँ ।यसलाई उहाँले गहिरो अध्ययन गरिसके पछि नेपालमा अनेक भुलभुलैयामा परी व्यापक धर्मान्तर भई रहेको कुरालाई हृदयङ्गम गरी यसको काव्य बनाउन सकिएमा यो कृति ज्यादै महत्त्वको हुनुका साथै पूर्वीय सभ्यताका प्रति पश्चिमा विद्वान्हरूको दृष्टिकोण के रहेछ भन्ने समेत सबैलाई अवगत हुने थियो कि भनी यस ग्रन्थलाई पद्यान्तर गर्न लागेको सूचना मलाई पठाउनु भयो।म खुसी र हर्षले दङ्ग परेँ। उहाँ आफू त एक ससक्त छन्द कवि हुँदै हुनुहुन्छ उहाँका सपरिवार नै नेपाली साहित्यका विभिन्न विधामा सकृय छन् जसमा उहाँकी जेठी छोरी सरु गुरागाइँ विश्वमा नै चर्चित कविता वाचक हुनुहुन्छ। यसै बिच***हामी नेटमा साथी बन्यौँ समय समयमा हाम्रा बिचमा अनेकन कुराकानी र भलाकुसारी हुँदैगए। यसै वर्षको असार देखि फागुनमा(जुलाई देखि मर्च)आई पुग्दा शर्माले यस कृतिलाई पूर्ण रूपमा ९१ जनाका छुट्टाछुट्टै विचारहरूलाई छुट्टाछुट्टै र धेरै जसो शार्दूलविक्रीडित छन्द अनि केही अनुष्टुप्,मालिनी र सवाई छन्द प्रयोग गर्नु भई पूर्वीय सभ्यतामा मगमगाउदो पुष्पको अति आकर्षित थुँगो बनाउनु भएकोमा उहाँलाई मेरा तर्फबाट ससम्मान हार्दिक धन्यवाद र आभार भन्दछु।आगामी दिनमा पनि उहाँको कलम अझ सशक्त बन्दै जाओस्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि