भोलि फित्कौलीको खित्कौली सभा-२ आयोजना हुँदै

Aug 25, 2023 - 14:47
Aug 25, 2023 - 14:51
 0  21
भोलि फित्कौलीको खित्कौली सभा-२ आयोजना हुँदै

भाद्र ८,काठमाडौ, काव्य घर । भोलि  पाँचजना जेष्ठ र विशिष्ट व्यक्तित्वको आतिथ्यमा हास्यव्यङ्ग्यका पाँच स्रष्टालाई सम्मान, पुरस्कार, पाँचजना स्रष्टाका एकैपटक पाँच वटा कृति लोकापर्पण तथा रोचक र घोचक कार्टुनको प्रदर्शनी ।  नेपाली हास्यव्यङ्ग्य संवर्द्धन र अभ्युत्थानमा समर्पित फित्कौली अनलाइन मिडियाद्वारा यही भदौ ९ गते शनिबार जेष्ठ तथा विशिष्ट व्यक्तित्वहरूको प्रमुख आतिथ्यतामा बागमती बोर्डिङ स्कूल, सुकेधारामा ‘फित्कौलीको खित्कौली सभा-२’ कार्यक्रम आयोजना गरिने भएको छ । यस अन्तर्गत हास्यव्यङ्ग्यमा साधनारत व्यक्तित्वहरूलाई पुरस्कार समर्पण तथा एकै पटक झण्डै आधा दर्जन हास्यव्यङ्ग्य कृति र बुढ्यौली साहित्य कृति लोकार्पण गरिने भएको छ ।

 फित्कौली अनलाइन मिडियाद्वारा स्थापित ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान-२०८०’ द्वारा विगत चार दशकदेखि हास्यव्यङ्ग्य लेखनमा क्रियाशील व्यक्तित्व पाल्पाका चोलेश्वर शर्मालाई नगद रु २०,०००/- सहित सम्मान प्रदान गरिने भएको छ । त्यसैगरी स्याङ्जाकी हास्यव्यङ्ग्य लेखिका गायत्री परिरोशनीलाई ‘गोविन्द-विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार-२०८०’, झापाका हास्यव्यङ्ग्य कवि खगेन्द्र नेउपानेलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार-२०८०’, गुल्मीका हास्यव्यङ्ग्य निबन्धकार काशीनाथ मिश्रितलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय निबन्ध पुरस्कार-२०८०’ र भक्तपुरका कवि रामशरण न्यौपानेलाई ‘मुकुन्द-मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार-२०८०’ प्रदान गरिने भएको छ । यी पुरस्कारहरूको रकम जनही १५,०००/- र सम्मानपत्र रहेको छ भने फित्कौली प्रोत्साहन पुरस्कार स्वरुप कार्टुनिस्ट राजेश मानन्धरलाई नगद रु. १०,०००/- प्रदान गरिने भएको छ । यी पुरस्कारका निम्ति व्यक्तित्व छनोट गर्न हास्यव्यङ्ग्यकार चट्याङ मास्टरको संयोजकत्वमा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे र डा. मुकेशकुमार चालिसे रहनुभएको छनोट समिति चयन गरिएको थियो । छनोट समितिले सिफारिस गरेका स्रष्टाहरूलाई सम्मानित र पुरस्कृत गर्ने निर्णय फित्कौली अनलाइन मिडियाले गरेको हो । कार्यक्रममा अग्रज हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलको ‘भ्यागुताको श्वेतपत्र’, राजेन्द्र कार्कीको ‘खाइराइड’, ठाकुरप्रसाद अधिकारीको ‘बेसारे घुर्की’, सुभाषचन्द्र देवकोटाको ‘ग्रहणतन्त्र’ गरी ४ वटा हास्यव्यङ्ग्य कृति र डा. मुकेशकुमार चालिसेको ‘डाँडाका उज्याला जून’ (पाका मान्छेका बारेमा पाठ्यसामग्री) एकैपटक विमोचन गरिने भएको छ । फित्कौली अनलाइन मिडियाले आयोजना गर्ने यो समारोहलाई फित्कौली कमेडी फेसबुक ग्रुपबाट लाईभ प्रसारण समेत गरिने भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि