मृत्युको इतिहास लेखेर -राजनप्रसाद न्यौपाने श्रीयम
मृत्युको इतिहास लेखेर
-राजनप्रसाद न्यौपाने श्रीयम
आज,
विज्ञानको कालखण्डमा
विचित्रको बनेको छ संसार
विभाजित बनेको छ
भूगोल र भौगोलिकता
मानव इतिहास पनि ।
मानव सभ्यताको
यात्रा आरम्भ हुँदा
कठिन र असहज थियो होला
मानिसको जीवन ।
तर,
उमङ्गित आकाश
स्वच्छ धर्ती
उज्यालो शहर
रमाइलो गाउँ
प्रकृतिप्रेमी मान्छे थिए होलान्।
स्वतन्त्रताका देवी, भगवती
काली ,चण्डी
गाउँ शहरको सेरोफेरोमा
संभावनाका झिल्काहरू बोकेर
नारी स्वरुपमा विश्व भ्रमण
गर्थे होलान्
उता,
पुरुष रुपधारी मानवको
उडुस आतंक
र बाँझी आमाहरू
रङ्गहिन सौन्दर्यतामा
अन्तिम साक्षी बनेर
पात्र ,मानव इतिहासका
बनिरहेका थिए होलान् ।
सायद,
यस्तै थिए होलान
मानव विकासका इतिहास
सिर्जना गर्न खोजिएका
आधारभूत यर्थाथता।
विकासक्रमसँगै लादिएका
स्वाधिनता ,स्वतन्त्रता र मानवियता
परिधिहरू भएका थिए
आधुनिक विकासका ।
विस्तारै फरक भयो संसार
झाङ्गियो नीचता र स्वार्थपन
विभाजन भयो भूगोल
दोहन भयो प्रकृति
कतै राजनैतिक स्वार्थमा
कतै धार्मिक मान्यतामा
कतै आर्थिक प्रलोभनमा
मानवियता पनि भाग लाग्यो।
संसारभर फैलिए
हुनेखाने र हुदाँ खानेहरू
वर्ग विभाजन भएर
फूलको सुगन्ध वरिपरि
मान्छेको मानवियताको
सुगन्ध डाँडापारी भयो ।
आकाश तर्फका यात्रा
निरन्तर बेजोड बने
समुद्रमुनि देश भेटिए
कुरुक्षेत्र र रणभूमि बने
पृथ्वीका धेरै ठाउँ।
मान्छे अमानव भए
जनवार जस्ता
मानवियता अनिश्चित
अंकुरण भएर
बिज्ञानको आडम्बरी बारीमा
टुसाउन थाले
यस्तै रंगीन तरङ्गमा
मानिस आफूलाई सर्वेसर्वा ठान्न थाले।
पटक–पटक बलात्कार भैरह्यो
प्राकृतिक सुन्दरता माथि।
मानिसका आर्थिक समृद्धिका
आधार स्तम्भ नै
पर्यावरण विनाश बन्यो।
विनाश हुँदै गयो जैविक तत्व
मानिस यति विघ्न क्रुर बन्यो कि
आफ्नो विनाश गर्ने अणु परमाणु
र ,हतियार आफै बनायो मान्छेले
भेटिएन मनसँग मन मान्छेको
गुम्यो आत्मियता र विश्वास
अपनत्वको
सम्बन्ध प्राणी र प्रकृतिको।
परिणामस्वरुप
दैवी विपती
प्राकृतिक प्रकोप
महामारी
खेप्दै गयो मानव समुदाय।
खाटा बस्न नपाउँदै
एउटा घाउ,
लाग्न थाल्यो अर्को
खप्नै नसकिने चोट
सबै सजिवहरूमा।
प्राणी र निर्जिवहरू पनि
प्रताडित बन्दै गए
जैविक विविधता मासियो
संस्कार, संस्कृति, परम्परा
मूल्य र मान्यता
सुधारिएन समय अनुकुल
मासिंदै गए धमाधम।
अवशेषहरू इतिहास बने
जहाँ मानिस आज
आफ्नो अन्त्यको इतिहास लेख्न
आफै उद्देलित भएको
प्रमाणित भएको छ ।
What's Your Reaction?