कोशीमा नयाँ सरकारका लागि ढोका खुल्यो

सर्वोच्च अदालतको आजको पूर्णइजलासले मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक भएको ठहर भएपछि उनी पदमुक्त भएका हुन्।

Sep 7, 2023 - 15:50
Sep 7, 2023 - 15:52
 0  36
कोशीमा नयाँ सरकारका लागि ढोका खुल्यो

भदौ २१ काठमाडौं,काव्य घर/कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन्। सर्वोच्च अदालतको आजको पूर्णइजलासले मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक भएको ठहर भएपछि उनी पदमुक्त भएका हुन्।

 न्यायाधीशहरू सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित पूर्णइजलासले संविधानको धारा १६८ को उपाधारा ३ बमोजिम ठूलो पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउन आदेशसमेत दिएको छ। सर्वोच्च अदालतले ४८ घण्टाभित्र नयाँ सरकार बनाउन प्रदेश प्रमुख पर्शुराम खापुङको नाममा परमादेश जारी गरेको छ।

 यस अगाडि पनि सर्वोच्चले कोशी सरकारको मुख्यमन्त्रीमा थापाको नियुक्ति बदर गरिदिएको थियो। २१ असारमा कांग्रेस संसदीय दलका नेता थापाले मुख्यमन्त्री पदमा दावी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए। तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी भन्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दिएका थिए।

त्यतिबेला न्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले मुख्यमन्त्री थापाको नियुक्ति बदर गरिदिएको थियो। साथै ७ दिनको समय दिएर संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन प्रदेश प्रमुखको नाममा परमादेश दिएको थियो। सर्वोच्चको सोही आदेशबमोजिम प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनको आह्वान गरेका थिए। सभामुख बाबुराम गौतम पदबाट राजीनामा दिएर थापाको नेतृत्वमा सरकार गठन प्रक्रियामा सहभागी भएका थिए। गौतम सरकारका आर्थिक मामिला तथा योजना मन्त्री छन्। अहिले कोसीमा सभामुख खाली छ। सभामुख कुनै पनि दलले लिन मानिरहेका छैनन्।

थापा साउन १६ गते पुन:मुख्यमन्त्री बने। मुख्यमन्त्री बनेको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार थापाले भदौ ४ गते विश्वासको मत लिएका थिए। थापाले प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा सभामुख इस्राइल मन्सुरीले समेत मत दिएका थिए। थापाले पाएको विश्वासको मत असंवैधानिक भएको दावी गर्दै एमालेका नेता कार्की रिट लिएर सर्वोच्च पुगेका थिए। रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, सभाध्यक्ष भएर सभामुखको भूमिका निर्वाह गरेका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरी,अध्यक्ष मण्डलकी सदस्य एवं प्रदेशसभा सदस्य गीता तिमल्सिना र कोसी प्रदेशसभा सचिवालयलाई विपक्षी बनाइएको थियो ।

प्रदेशसभा बैठक आह्वान गरेर बिरामी परेको भन्दै उपसभामुख सिर्जना दनुवार काठमाडौं लागेपछि मन्सुरीले सभाको अध्यक्षता गरेका थिए। मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजनपछि दिएको मत सच्याउने समयमा सभाध्यक्षको आसनमा नेकपा (माओवादी केन्द्र)की प्रदेशसभा सदस्य गीता तिम्सिनालाई बोलाउँदै मन्सुरी मतदान प्रक्रियामा सहभागी भएका हुन्।

उनकै मतका आधारमा मुख्यमन्त्री थापाले ४७ मत पाए। विपक्षमा ३० मत परेको थियो। कोशी प्रदेशमा राप्रपा र जसपा मध्य एक दलले कित्ता परिवर्तन गरे मात्रै पनि  नयाँ सरकारले स्थायित्व पाउने देखिन्छ नत्र कोशी प्रदेश मध्यावधि चुनावका लागि तयारी हुनुपर्ने अवस्था छ ।

यतिबेला कोशी प्रदेशको नामकै बिषयमा पनि पहिचान बादीहरुले फरकफरक धारणा सहित आन्दोलन गरिरहेको अवस्था छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि