तेस्रो आदित्य मोक्षधाममा काव्य गोष्ठी" सम्पन्न
साहित्यिक पत्रकार संघ र आदित्य मोक्षधामको संयुक्त निमन्त्रणामा राजधानी कोटेश्वर तीन कुनेबाट दुई बसमा गएका कविहरू र बनेपाका कविहरूले दुई चरणमा कविता वाचन गरेका थिए
२०८० चैत १३, पनौती कुशादेवी, काभ्रे । आज "तेस्रो आदित्य मोक्षधाम काव्य गोष्ठी" कार्यक्रमको आयोजना सम्पन्न भएको छ ।साहित्यिक पत्रकार संघ र आदित्य मोक्षधामको संयुक्त निमन्त्रणामा राजधानी कोटेश्वर तीन कुनेबाट दुई बसमा गएका कविहरू र बनेपाका कविहरूले दुई चरणमा कविता वाचन गरेका थिए ।
साहित्यिक पत्रकार संघ (सापस)का अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो काव्य गोष्ठीमा विशेष अतिथिमा माननीय कवि मीना श्रेष्ठ र क्याप्टेन रामेश्वर थापा रहनु भएको थियो । सोही अवसरमा अध्यक्ष लेकाली, क्याप्टेन रामेश्वर थापा र ॐ आदि फाउन्डेसनका रामेश्वर थापाले कार्यक्रमको उद्देश्य र बाल गुरु आदित्यबारे प्रकाश पारेका थिए । कवि एवम् संचारकर्मी ठाकुर बेलबासेले कार्यक्रम संचालनसहित सहजीकरण गरेका थिए । सात्विक भोजनसँगै पहिलो चरणको कार्यक्रम समापन भएको थियो । वन, वनेलीको दृश्यावलोकन सहित मोक्षधाम उक्लेका कविहरू दंगदास भएका थिए । दोस्रो चरणको कार्यक्रम बाल गुरुसहित प्रमुख अतिथि पूर्व प्रधानमन्त्री केपी ओलीले वरिष्ठ कवि एवम् जरामा कलाको अर्थ खोज्ने कलाकार नरेन्द्रबहादुर श्रेष्ठद्वारा रचिएको विभिन्न शिर्षकको कलाहरूको प्रदर्शनीको उद्घाटन गरेका थिए ।
दोस्रो चरणको औपचारिक कविता गोष्ठीको सभापति क्याप्टेन रामेश्वर थापा थिए । गुरु योगी चैतन्य आदित्यनाथको उपस्थिति रहेको सो कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री के. पी. ओली सहित पूर्व उपप्रधानमन्त्रीहरु ईश्वर पोखरे, विष्णु पौडेल, पूर्व मन्त्रीहरु प्रदीप ज्ञवाली, गोकुल बास्कोटा, रेशम लामा, पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी, धुलिखेल नगरपालिकाका मेयर अशोक बेन्जु, काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा, रजिस्ट्रार अच्युत वाग्ले, ॐ आदि फाउन्डेसनका विशिष्ट सल्लाहकार लक्ष्मी प्रसाईं, अध्यक्ष उपेन्द्र महतो, गुरु पिता लगायतको उपस्थिति रहेको थियो । दोस्रो चरणमा कविता र गुरु मन्त्रको पाठ गरिएको थियो ।
कलाकार नरेन्द्रबहादुर श्रेष्ठले गुरुसँग कसरी साक्षात्कार भयो भन्ने अनुभूति "कलियुगको आदित्य ज्योतिपथ" पुस्तकबाट पढेर सुनाएका थिए । कार्यक्रमका सभापति सापसका अध्यक्ष राधेश्याम लेकालीले कविता यात्राको उदेश्य माथि प्रकाश पार्दै धन्यवाद ज्ञापन गरेका थिए । अध्यक्ष लेकालीले ॐआदि फाउन्डेसन परिवारसहित क्याप्टेन रामेश्वर थापा र सागर थापासहित जरा प्रदर्शनीको लागि कलाकार नरेन्द्रबहादुर श्रेष्ठ लगायत कार्यक्रमका सहभागी सर्जकलाई धन्यवाद दिएका थिए ।
What's Your Reaction?