सूचक सम्मान बाट दश साहित्यकार एकसाथ सम्मानित

Sep 29, 2023 - 02:11
Sep 29, 2023 - 02:14
 0  13
सूचक सम्मान बाट दश साहित्यकार एकसाथ सम्मानित

 आश्विन १२ काठमाण्डौ , काव्य घर /सूचक प्रकाशनले आफ्नो १५औं वार्षिकोत्सव भव्यरूपमा सुसम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रेक्षालयमा आयोजित उक्त कार्यक्रममा क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार साहित्यकार इल्या भट्टराई र वरिष्ठ सञ्चारकर्मी राजेश खनाललाई नगद र प्रमाणपत्रसहित संयुक्त रुपमा समर्पण गरिएको छ । त्यस्तै सूचक सम्मान कवि गीता कार्की, साहित्यकारत्रय ज्ञानु अधिकारी, लीलादेवी श्रेष्ठ तथा सपना लामिछाने, कविद्वय डा• रेणुका सोलु एवम् वसन्त नकर्मी, समाजसेवी हेमन्तकुमार कार्की, स्वास्थ्यसेवी डा• सिद्धार्थ रञ्जितलाई प्रदान गरिएको छ । त्यसरी नै पत्रकार जयराम बिडारी, कवि रश्मि रिमाल तथा समीक्षक अरुण खत्री 'नदी'लाई कदर-पत्र प्रदान गरिएको छ । कार्यक्रममा शिक्षाविद् एवम् समाजसेवी केदारनाथ श्रेष्ठ, साहित्यकार जलेश्वरी श्रेष्ठलगायतका अतिथिहरूको उपस्थिति थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले तीन कारणले उक्त कार्यक्रम विशेष रहेको दाबी गरे- एक, कार्यक्रमको शुभारम्भ र समापन तोकिएको समयमा भएको ; दुई, सम्मानित अनुहारहरूमा युगौँ दलनमा राखिएका आधा आकाश धानेका महिलाहरूको बाहुल्यता र तीन, वक्ताहरूको सङ्क्षिप्त र सान्दर्भिक मन्तव्य । प्रभावहीन, बोझिलो र वाक्कलाग्दो मन्तव्य श्रवण गर्न नपरेकोमा उनी सन्तुष्ट देखिन्थे । राईले थपे- "हामी समावेशी प्रज्ञा प्रतिष्ठान बनाउने एक सूत्रीय अभियानमा दत्तचित्त छौँ भने सूचक प्रकाशन पनि समावेशिताको चाक्लो राजमार्गमा यात्रारत । तसर्थ कुनै न कुनै कुइनेटोमा हाम्रो भेट अवश्य हुन्छ भन्नेमा म विश्वस्त छु ।" कार्यक्रमका सहजकर्ता युवा कवि तथा गजलकार प्रकाश समीरको आग्रहको जवाफ दिँदै राईले विशुद्ध साहित्यिक कार्यक्रमका निम्ति प्रज्ञाका दुई सभाकक्ष- लेखनाथ र पारिजात प्रेक्षालय- को हलभाडाका हकमा पचास प्रतिशत सहुलियत दिने उद्घोष गरे ।

 पुरस्कृत व्यक्तित्वहरूको प्रतिनिधित्व गर्दै साहित्यकार इल्या भट्टराईले लेखन पुरस्कारका निम्ति नभए पनि पुरस्कृत हुँदाखेरि गौरवान्वित अनुभूत भएको उल्लेख गरिन् । लेखकको नाउँमा स्थापित पुरस्कार ग्रहण गर्न पाएकोमा आफूलाई गर्व लागेको उनको भनाइ थियो । सम्मानित व्यक्तित्वको तर्फबाट मन्तव्य राख्ने सिलसिलामा सपना लामिछानेले उपस्थित, पुरस्कृत र सम्मानित सबैप्रति कृतक्ज्ञता ज्ञापन गरिन् । अर्का कवि वसन्त नकर्मीले आफूभन्दा अग्रज साहित्यकारसामु उभिएर दुई शब्द राख्न पाएकामा सूचक प्रकाशनप्रति आभार व्यक्त गरे । सम्मानित साहित्यकारद्वय गीता कार्की र रेणुका सोलुले एकेक वटा कविता वाचन गरे ।

 उपस्थित अतिथिहरूलाई स्वागत गर्ने सिलसिलामा प्रकाशनका अध्यक्ष दीपक भेटुवाल 'दीपसागर'ले आफूहरूले स्तरीय सिर्जना र सकारात्मक योगदान भएका स्रष्टाहरूलाई ओझेलमा पारी पहुँचवाला स्रष्टालाई उत्प्रेरित गर्ने सिन्डिकेटको सदा विरोध गरेको जिकिर गरे । राम्रोलाई राम्रो भन्न आँट गर्नुपर्ने बताउँदै उनले सत्ता र शक्तिको आडमा साहित्य, साहित्यिक सिर्जना र स्रष्टालाई अतिरञ्जित गर्ने प्रवृत्ति विरूद्ध खबरदारी गर्नु आफूहरूको अभीष्ट भएको अभिमत राखे । 'नेपाली समाजको परम्परागत संस्कृति, मूल्य, मान्यता र सिद्धान्तलाई शिरोपर गर्दै जुनसुकै धर्म, पेसा, व्यवसाय र क्षेत्रका प्रतिभावान् व्यक्तिहरूको खोजी र प्रतिभाको यथोचित सम्मान गर्ने कार्यलाई सूचक प्रकाशनले आफ्नो दायित्वका रूपमा बुझेको उनको कथन थियो । तमाम साहित्यकार र साहित्यानुरागीको गरिमामय उपस्थितिप्रति उनले हार्दिक कृतज्ञता ज्ञापन गरे । साहित्यकार हिरण्यकुमारी पाठकको अध्यक्षतामा उक्त पुरस्कार तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि