कृति समिक्षा -हाडे ओखर, नइ र बानीरा रानी-बी.के. पाल्पाली

Dec 22, 2023 - 14:45
 0  30
कृति समिक्षा -हाडे ओखर, नइ र बानीरा रानी-बी.के. पाल्पाली

हो, हाडे ओखर बाहिर साँच्चै बानीरा जस्तै कडा पो हुन्छ त ! जसको भित्र अमृत समान आनन्ददायी स्वाद बोकेको खिरीलो तर सु–स्वादू ओखररुपी साहित्य सञ्चित हुन्छ । साँच्चै त्यस्तो सञ्चित र अजर स्वादापन्न साहित्य घाँजीलाई समाजसम्म, अझ भनौ मानव मन मष्तिस्कसम्म पु¥याउन नइजस्ता पवित्र संस्थाहरु अहोरात्र डटिरहेको देख्दा अझ निष्पट कालरात्रीमा जुनकिरीको पिल्पिले बत्ती गगनफटिकजस्तै भएर हजारौं हाडे ओखरहरु खोज्न उडिरहेजस्तै लाग्छ । त्यही खोजीको परिणतिले त जगायो २९ हजार २ फुटको उचाईलाई उध्र्वगामी उचाइमा नघट्दो गरी उभ्याउने ‘विश्व नारी रत्न ः का रुपमा उनै नेपाली हाडे ओखर डा.बानीरा गिरीलाई । 


साहित्य पनि अचम्म हुँदोरहेछ । यसले कसैलाई चाकडीवाजको उपमा पनि भिराउँछ । जहाँ त्यस्तो पात्रलाई सकारात्मक कार्यको खेदो खन्नु र अयोग्यलाई माथि धकेल्नु लक्ष्य हुन्छ । तर बानीराको व्यवहारमा यस्तो चाकडीवाज कहिलेकाँही जहर बनेर आउँथ्यो भने कहिले बानीराको कार्यले भुतुक्क बनाएर पश्चातापको अग्नीज्वालामा जलाउँदै उनै डा. बानीराको काखमा मुन्ट्याउँथ्यो । यही बखत पनि डा.बानीरा स्वाभिमान स्तम्भीत पहाडमा गजधम्म भएर अझ प्लावित हुँदै त्यही साहित्य साधनाको बगैंचामा ढकमक्क फुल्थिन् यही फुलाईले उनलाई  ‘विश्वनारी रत्न’ का रुपमा नारीचुलीमा पु¥यायो । नइ प्रकाशनले कुनै बेला यस्तै हाडे ओखरहरुका रुपमा ३ भाले कविशिरोमणि लेखनाथ पौडेल, नाट्यसम्राट वालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाजस्ता व्यक्तित्वहरुलाई त्रिमूर्तिको रुपमा देख्यो र त त्रिमूर्ति निकेतनका रुपमा अर्को रत्नकेशरी बन्न पुग्यो । सोही निकेतनको नवौं दिवसका अवसरमा घोषित ‘विश्व नारी रत्न’ उपमाको आधार प्रमाण हो, यस कृति– ‘विश्व नारी रत्न ः डा. बानीरा गिरी’ ।    
प्रकाशन संस्था त्रिमूर्ति निकेतनका संस्थापक नरेन्द्रराज प्रसाईंद्वारा लिखित प्रस्तुत कृतिमा लेखक ले डा.बानीरालाई मुख्य पात्र बनाएर उनको जीवनीमा उकाली–ओरालीलाई साङ्गोपाङ्गो केलाउने कार्य गरेका छन् । 
कृतिमा लेखकले बानीरा गिरीको पिता पूर्खादेखि उनका नाममा बगेका काव्यधारासम्म विभिन्न परिवेशमा षोडशोपचार विधि प्रयोग गरी अध्ययनका क्रममा भ्यागुतो चिर्न मन नलागेर डाक्टर नवन्ने घोषणा गर्न पुगेकी बानीराका जीवन मन तरङ्गलाई शब्दको कैंचीले पूर्ण रुपमा चिरफार गरी कत्थ्यात्मक शब्दवागमा चिरिच्याट्ट बनाएर सजाइदिएका छन् । साँच्चै भन्नुपर्दा प्रसाईंले बानीरा रानीलाई हाडेओखर कै रुपमा नेपाली नारीको अव्वल चरमचुलीमा ‘रानो’ प्रतिनिधिको रुपमा पूर्ण चरितार्थ गरिदिएका छन् । 
लेखकले कृतिनायकलाई कतै नेपाली साहित्यको एउटा बलियो आधारशीला देखेका छन् । त कतै विश्व नेपाली साहित्यको ‘मीयो’ । डा.बानीराको साहित्यिक दिग्विजयको यस महायात्रामा होमिएर लेखक नरेन्द्रराज प्रसाईंले आफ्नो साहित्य यात्रामा पनि ६१औं दिग्विजय गरिरहेजस्तो लाग्छ । कृति अध्ययन गर्दै जाँदा पाठकको रुपमा नभएर आफैं पात्र आभाष हुनु, भित्रभित्रै कृतिको पानापानामा भौतिकी नै प्रवेश भए जस्तो पाठकले अनुभूत गर्नु अनि खाँटी रुपमा सत्यदेवी, बीआरजी, बानीरा रानी  हँुदै डा.बानीरा गिरीसम्मको एउटा यात्रामा आइपुग्दा कृतिनायकका उतार–चढावले जो कोही पाठकलाई पनि पुलकित तुल्याउँछ नै । यस मानेमा लेखकले डा.गिरीलाई शाश्वत् चिन्तनकी धनी स्रष्टाका रुपमा उभ्याएका छन् । 
यात्राको नेपथ्यमा ज्वाझल्यमान र देदीप्यवान बन्दै धूूपको काम गर्दै रहेका सत्यदेवीका महादेव शंकर गिरी अनि लेखक प्रसाईंकी पार्वती इन्दिरा प्रसाईंको भूमिकालाई कृति संयोजनमा कम आँक्न सकिँदैन । सर्वत्र पूजिएका नारीचुली विश्व नेपाली नारी रत्न अनि नइले देखेको साँच्चै २९ हजार २ फुटको साहित्यिक उँचो कद, लाग्छ डा.बानीरामार्फत् नेपाली नारी गौरवको शान हो । यस्तो सानलाई शौभाग्यवान बनाउन अहोरात्र जुट्ने लेखक नरेन्द्रराज प्रसाईं अनि त्रिमूर्ति निकेतनको प्रकाशकीय अभियानलाई सलाम भन्दै त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईंको शब्द सापटी लिन्छु । 
कहिल्यै अस्त नहुने 
जुनतारा हो– बानीरा 
आ–आफ्नो ब्रह्मभित्र गहिरिएर त हेर 
विश्व नारी रत्न हो, बानीरा !

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि