जीवन दर्शन ,मनन चिन्तन ।

ब्यक्तित्व ,समाज,सजीव-निर्जीव जगत ,ब्रम्ह्याण्ड र ब्रम्ह्याण्ड सापेक्षिक ज्ञान/चेतना ,समय , उर्जा तथा मानव मनोदशाको बिश्लेशन गर्ने उद्देश्यले धाराबाहिक रुपमा प्रस्तुत हुने अठोट गरेको छु । विज्ञ मित्रहरुले यस बिषयमा पक्कै रचनात्मक छलफल र बिश्लेशनमा सल्लाहहरु दिनु हुने नै छ । हाम्रो संस्कृति /संस्कार ,हाम्रो संसार , जीव र निर्जीव जगत ,हाम्रो आकाश र आकाशीय पिण्डहरु (ब्रम्ह्याण्ड)तथा ब्रम्ह्याण्डिय उर्जा साथै त्यसको जीवमा प्रभावको बिषयमा बिमर्श गर्नु यो आलेखको मूल बिषय हो

Mar 12, 2024 - 22:15
 0  96
जीवन दर्शन ,मनन चिन्तन ।
बेनुप्रकाश कार्की

 ब्यक्तित्व ,समाज,सजीव-निर्जीव जगत ,ब्रम्ह्याण्ड र ब्रम्ह्याण्ड सापेक्षिक ज्ञान/चेतना ,समय , उर्जा तथा मानव मनोदशाको बिश्लेशन गर्ने उद्देश्यले धाराबाहिक रुपमा प्रस्तुत हुने अठोट गरेको छु ।

विज्ञ मित्रहरुले यस बिषयमा पक्कै रचनात्मक छलफल र बिश्लेशनमा सल्लाहहरु दिनु हुने नै छ । हाम्रो संस्कृति /संस्कार ,हाम्रो संसार , जीव र निर्जीव जगत ,हाम्रो आकाश र आकाशीय पिण्डहरु (ब्रम्ह्याण्ड)तथा ब्रम्ह्याण्डिय उर्जा साथै त्यसको जीवमा प्रभावको बिषयमा बिमर्श गर्नु यो आलेखको मूल बिषय हो ।यो लामो दार्शनिक बिषय बस्तुको कुरा भएकोले यसलाई बिस्त्तृत रुपमा पुस्तकाकारमा लेखिनु पर्ने हो तथापि यस बिषयमा यहाँ ब्यक्तिगत छोटो धारणालाई ब्यक्त गर्ने प्रयत्न मात्र गरिएको छ।

 

आफूलाई म भन्ने जुन चिज छ ,त्यो एउटा ब्यक्ति हो । एउटा ब्यक्ति बन्न ब्रम्ह्याण्डका सबै पदार्थको समिश्रण रहेको हुन्छ र ती सबै पदार्थको गुणधर्मितामा आधारित प्रतिकृयाहरुको पारिस्थितिक अन्तर सम्बन्ध तथा अन्तरबिरोधहरु र उर्जा अनि समयको गतिको त्यसमा पर्ने प्रभावबाट हुने उसको अनुभूति नै उसको चेतना हो ।म अर्थात संस्कृत शब्दमा अहम् भन्ने शब्दमा आकार शब्द जोडिएर अहंकार शब्द बन्दछ । अहंकारले म भन्ने कुराको प्रभुत्व जन्माउँने प्रयत्न गर्दछ जसलाई हामी ब्यक्तित्व निर्माण र ब्यक्तित्वको प्रभाव भनेर बुझ्दछौं ।अहंकारले महत्वाकांक्षीको एउटा पक्ष हो भन्ने बुझाउँने भए पनि यो सकारात्मक र नकारात्मक दुबै कुराको रुपमा रहेको हुन्छ ।

आफ्नो पन विकासको लागि हुने अहंकार सकारात्मक हो भने अन्यपक्षलाई अपमान बहिस्कार र घृणाको अहंकार नकारात्मक गुण हो ।यसरी हेर्दा एउटा ब्यक्तिको (अहम ठूलो गुण)बन्न ब्रम्ह्याण्डका सबै पदार्थहरुको सम्मिलन भई ती पदार्थहरुको समय र पारिस्थितिक अनुकूलतामा बनेको संयोजित आभामण्डल ( उर्जा )सहितको उसको त्यस आभामण्डल भित्र बिकास भएको चेतना सहितको पुंज नै ब्यक्तित्व भनेर बुझ्नु पर्दछ । ब्यक्तिको ब्यक्तित्व निर्माण हुन उस भित्रका पदार्थहरुको संयोजन , ब्रम्ह्याण्डिय गतिसँग समय चक्रको उचित संयोग , ब्रम्ह्याण र उसको संयोजित पिण्डमा संकलित र ब्यवस्थापन भएको तत्संयोगको उर्जाको प्रतिकृया र त्यसको वरिपरीको पारिस्थितिक संयोग आदि कुराको महत्वपूर्ण भूमिका रहन्छ ।

पारिस्थितिक संयोगमा सबै भन्दा बढी उसको वरिपरी भएका ब्रम्ह्याण्ड पिण्डहरु ( जीव , निर्जीव बस्तुहरु , मानव समुह र सामाजिक अवस्थिति तथा अन्य भौतिक र ग्रह/तारा आदि ) को मेल तथा अन्तर बिरोधी गतिबिधिहरु पर्ने गर्दछन । ती गतिबिधिको कारण पदार्थ समुहको रुपमा रहेको ब्यक्तिको उर्जा ब्यवस्थापन र समय गतिको समेत निर्धारण हुने हुन्छ । यही कुराको खोजी गर्ने क्रममा भौतिक विज्ञान , जीव र रसायन विज्ञान अन्य बिभिन्न वैज्ञानिक अध्ययन अनुसन्धान तथा ज्योतिष गणितको अध्ययन र खोज गरिएको हो । अहिले सम्म पत्ता लगाइएको ज्ञानको आधारमा हामीलाई हाम्रो ब्रम्हाण्डको अध्ययनमा निक्कै ठूला उपलब्धिहरु हासिल हुँदै गएका छन ।नाशा र अन्य बिविध अध्ययन केन्द्रहरुको अनुसन्धान क्षमता अहिले ब्रम्हाण्डका पृथ्वी , चन्द्रमा , मंगल सम्म प्रत्यक्ष सम्पर्क ( निरिक्षण र प्रयोगको तहमा ) र अन्य आकाशीय पिण्डहरु मध्ये सौर्यमण्डलको निरिक्षण र अवलोकनमा सम्म र अन्य केही तारामण्डलहरुको केवल दुरविनको माध्यमबाट निरिक्षण मात्र भएका छन । त्यसको अतिरिक्त अरु बढी खोज अनुसन्धानलाई अझै ब्यापक र गहिरो बनाउँदै लगिएको छ । आकाश गंगा , ब्रम्हाण्ड,ब्ल्याकहोल र स्पेसटाइमको अध्ययन जारी राखेर एकातिर ब्रम्हाण्डिय ब्यापकताको खोजी हुँदैछ भने अर्कोतिर ल्याबहरुमा सूक्ष्मताको खोजीको क्रममा अणु र परमाणुहरुको प्रत्यक्ष प्रयोग र क्वान्टम तहसम्मको अध्ययन अनुसन्धानमा सामान्य सम्पर्क अनि केही प्रयोग र त्यो भन्दा सानो स्ट्रिंगतह सम्मको निरिक्षण गर्न मानव जातिले सफलता हासिल गरिएको अवस्था छ । यी सबै अध्ययन र अनुसन्धानका आधारमा हाम्रो ब्यक्तिगत क्षमता बिकास र ब्यक्तिहरुको ब्यक्तित्व विनिर्माण हुने गर्दछ । जुन ब्यक्तित्व सक्षम सबल हुन्छ त्यसको वरिपरि सबै कुराहरुले परिक्रमा गर्न बिवश बनेका हुन्छन अथवा सबल ब्यक्तित्व अर्थात ब्रम्हाण्डिय पिण्डको प्रभाव सबैतिर पर्ने गर्दछ । खगोल , ब्रम्हाण्ड आदि शब्दले हाम्रो सम्पूर्ण पदार्थहरुको सग्लो स्वरुप अण्डाकारको गोलो चक्रमा गतिशील भूँवरी रुपमा रहेको बिशाल अवस्थिति र अस्थित्व भन्ने हुन्छ । त्यसमा सानो स्वरुप स्ट्रिंग तह भन्दा सानो ( यो अवस्थामा जीव र निर्जीवको स्वाभाव एउटै हुन्छ) देखि एकता संयोजन , बिभाजन र सहअस्तित्व सहित संगठित र पुनर्गठित हुँदै बन्ने बिशाल ब्रम्हाण्ड रुप सम्म र त्यो ब्रम्हाण्डको पनि अनन्त स्वरुपको एकमुष्ठ गतिशील झुप्पो भन्न सकिन्छ । यो गोलो स्वरुपको भनिएकोले यसमा अवस्थित सम्पूर्ण पिण्डहरु सबैको प्रभाव आ-आफ्नो गुणधर्मितामा सबै आफू केन्द्रमा रहने स्वाभावको हुन्छ । एक सानो स्वरुपले वरिपरीका अन्य समान गुणका त्यही तहमा एकता र विपरित गुणसँगको बिभाजन आदि प्रकृयाले स्ट्रिंग , क्वान्टम , इलेक्क्ट्रोन प्रोटन, न्युटन, पोजिटन आदि हुँदै परमाणु , अणु हुँदै पदार्थहरु र पिण्ड आदि बन्ने साथै तिनै पिण्डहरुको बिशाल झुण्ड नै एकमुष्ठमा ब्रम्हाण्ड हो ।यस अनुसार सबै पदार्थहरुको संयोजित स्वरुप ब्यक्ति हो भने ती पदार्थहरुको प्रतिकृया आदिले हुने गुणधर्मिता र स्वाभाव नै चेतना हो त्यही चेतनाले अर्को पिण्डसँग गरिने प्रतिकृयात्मक ब्यावहारले नै प्रकृति र समाजसँग उसले गरेको गतिबिधिहरुको एकत्वको अनुभूति समाज हो । समाज ब्यक्तिहरुको एकताबद्ध रुप हो साथै तिनीहरु बीचको प्रतिकृयात्मक ब्यावहार नै सामाजिक गतिबिधिहरु हुन ।यी सबै कुराहरुको अनुभूतिको अनुभवलाई चेतना भन्ने गरिएको छ । यसरी चेतनाको निर्माण र बिकास भई चेतनाले एकापसमा संक्रमण हुने क्रममा चेतनाजन्य चेतना अर्थात अधिचेतनाको (परम चेतनाको )अस्तित्व निर्माण भएको छ ।त्यही अधिचेतना अथवा चेतनाजन्य चेतनालाई परमचेतना ( परमप्रभु )वा ईश्वर र गड अथवा डिभानपावर आदि नामले पुकारिएको छ । यो निर्गुण , निराकार , निरपेक्ष ,अबोधगम्य छ भन्नेहरुले यसैलाई आत्मा पनि भन्ने गरेका छन ।

 आत्माको अधि ( ठूलो ) पक्ष हो भनिएर दर्शनको यो पक्षलाई अध्यात्म दर्शन भन्ने गरिएको हो । यो नामको पावरलाई उर्जा पनि भन्न खोजिएको छ । ठिक त्यही कुरालाई विज्ञान तहमा बुझ्दा सम्पूर्ण कुराहरुको चेतना निर्माण पदार्थहरुको अन्तरसम्वन्धबाट बन्ने उर्जा र त्यसको प्रयोग र पदार्थमा त्यो उर्जाले ल्याउँने प्रभावलाई बुझिन्छ । पदार्थहरुको स्वत्व र आपसी सम्वन्धबाट नै संसारको विनिर्माण र संचालन भएको छ ।यस्तो पदार्थहरु र तिनीहरुको बीचको अन्तर सम्वन्धमा बन्ने उर्जा चेतना अनि त्यस उर्जाले पदार्थहरुमा पार्ने प्रत्यक्ष परोक्ष प्रभाव साथै पदार्थहरुको अस्तित्व र अवस्थितिको अध्ययन मनन चिन्तनलाई नै हामी द्वन्दात्मक भौतिकवादी दर्शन भन्दछौं । यो दर्शनले हरेक पदार्थ र बस्तुहरु गहिरो संगत भएर ब्यावहारमा तिनीहरुको प्रयोग गर्ने कलाको बिकास गर्न सकियो भने ती सबै कुराहरु बोधगम्य छन र सबै कुरा गतिशील छन भन्दछ ।अहिले दर्शन वा ज्ञान चेतना आदि यस कारणले दुई महत्वपूर्ण कुरामा बिभाजित भई हामीहरु फरक फरक कोणबाट बहस गर्ने र भन्ने गरेका छौं ।यी दुबै दार्शनिक पक्षमा रहेको एउटै सार बस्तु भनेको एउटै कुरा के हो भने पदार्थहरु र त्यसमा जन्मने चेतना र सम्पूर्ण अवस्थितिको चालक नियमको अध्ययन मनन् र चिन्तन नै हो । पक्ष विपक्षमा जति धेरै बहस हुन्छ त्यसबाट रहस्यको बढी खोजतलास भएर नयाँ नयाँ कुराहरु र सम्भावनाको समीपमा पुग्न दुबै तर्फबाट आंशिक रुपमा प्रयास हुने हुँदा केही सहज हुदै गएको छ तर यी दुबै पक्ष नै समग्र ज्ञानका श्रोत हुन भन्ने मेरो मान्यता रहेको छ । समग्रबाट आफ्नो रोजाइको बिशेस पक्ष सबैको हुन्छ त्यसमा मेरो रोजाइ द्वन्दात्मक भौतिकवाद नै हो । यो रोजाइ यसकारणले पनि हो कि यस पक्षमा ज्ञानको परिभाषा प्रयोग अध्ययन मनन चिन्तन र ब्यावहारिक प्रयोगमा आधारित छ । यो काल्पनिक दुनियाँबाट मुक्त भई ब्यावहारिक जगमा उभ्याउँन र उभिन खोजिएको छ । मैले माथि नै भनिसकें कि यी दुबै दर्शनको अध्ययन र मनन चिन्तनको बिषय एउटै हो ; त्यो के हो भने हरेक पदार्थहरुको अस्तित्व , चालक नियम , तिनीहरुको गुणधर्मिता , पदार्थमा चेतनाको बिकास र पुनर्चेतना अनि हरेक पदार्थमा हुने परिवर्तन र संगठन बिगठन र पुनर्संगठनका सम्भावनाहरु आदि हुन ।हाम्रो समाजमा अहिले आध्यात्मिक पक्षको बहुल्यता रहेको छ ।हरेक समाज मेहनत र परिश्रममा भन्दा बढी सहजता र कम परिश्रमबाट नै लाभ लिने कुरामा लालायित रहेकोले आध्यात्मिक चेतनाबाट संसार बुझिसक्नु छैन , जगत मिथ्या हो , जे हुने हो त्यो भएर नै छोड्छ त्यसकोलागि परिश्रम र कोशिस गर्न धेरै पर्दैन केवल परम शक्तिको उपासना र उसको कृपा पात्र हुने र चाकडी प्रवृत्तिबाट ठूला उपलब्धि प्राप्त हुन्छन भन्ने ज्ञान चेतनाको रुपमा रहेको परम् चेतनाको ( परमात्माको ) अधिक शक्तिको वा अध्यात्मवादको दर्शनको पक्षपाती बढी भएको हो । परिश्रम र मेहनत गरेर शक्ति आर्जन गर्नुभन्दा ठूलो बनाएर मानिएको शक्तिकेन्द्रको आशिर्वाद र कृपा पाएर सहज उपलब्धि आर्जन गर्ने प्रवृत्ति अध्यात्म दर्शनमा छ त्यसैले त्यो दर्शनमा हाम्रो समाजको कामचोर प्रवृत्ति सहज रुपले फष्टाएको हो ।यो दर्शनबाट नयाँ आविष्कारको सम्भावना र नयाँ नयाँ भौतिक र सामाजिक उपलब्धिको सम्भावना कम हुन्छ । यसमा भएको चाकडी प्रवृत्तिले पराधिनता र ठूलाशक्तिसँगको अनुबन्धता केन्द्रित कर्महरु यस दर्शनको पक्षधरता हो । अब यसैगरी द्वन्दात्मक भौतिकवादी दर्शनको बिशेसतालाई केलाउँदा के बुझिन्छ भने यो प्रयत्न र पहलकदमीको दर्शन हो ; यसले कामचोर प्रवृत्तिको बिरुद्धमा स्वाभिमानी भएर उभिन सबैलाई सिकाउँछ र प्रयोग र अध्ययन अनुसन्धानबाट ज्ञान विज्ञानको बिकास हुन्छ भनि सचेत गराउँछ । यसको बिभेद बुझिसकेपछि मैले सबै महानुभावहरुलाई भन्नु परेन कुन राम्रो या कुन नराम्रो हो भनेर । सबैको आ-आफ्नो प्रवृत्ति अनुसारको आफ्नो पक्षधरता हुन्छ ।

गलत संगत बाहेकको स्वस्फूर्त ब्यक्तिको स्वगुण धर्मितालाई स्वीकार गर्नु समाजको यथार्थतालाई बुझेर स्वीकार गर्नु हो । हाम्रा संस्कृतिहरु परापूर्वकाल देखि नै केही गलत र कामचोर प्रवृत्तिको गलत संगतबाट बाटो बिराएको अवस्थामा केही बिद्यमान प्रचलनमा रहेका छन ; तिनीहरुलाई सुधार र विकास गरी उन्नत समाजको र संस्कार अनि संस्कृतिको विकास गर्नु अहिलेका हाम्रो पुस्ताका हामी आम नागरिकको दायित्व रहेको छ । जब जागरण हुन्छ त्यही बिहानी हो ! सम्पूर्ण नागरिकहरु सचेतनाको जागरण अभियानमा एकजुट बनौं !!! यस आलेखको धारालाई आगामी श्रृंखलाको नियमित निरन्तरतामा प्रस्तुत हुन चाहन्छु आजलाई यति नै …! क्रमश: पछाडी आउने प्रतिबद्धता सहित ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि