फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान ६ जनालाई प्रदान गरिने

Aug 5, 2023 - 13:06
 0  8
फित्कौली हास्यव्यङ्ग्य  राष्ट्रिय सम्मान  ६ जनालाई  प्रदान गरिने


साउन २०, काठमाडौं, काव्य घर । नेपाली हास्यव्यङ्ग्य सम्वद्र्धनको उद्धेश्य लिएर फित्कौली अनलाइन मिडियाद्वारा स्थापित ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान (२०८०)’ हास्यव्यङ्ग्यकार चोलेश्वर शर्मालाई प्रदान गरिने भएको छ । फित्कौली अनलाइन मिडियाका अध्यक्ष तथा प्रधान सम्पादक नरनाथ लुइँटेलले शनिवार विज्ञप्ति प्रकाशित गरी उक्त जानकारी सम्प्रेषित गर्नु भएको हो ।

‘म त अप्रिल फुल भएछु’ (२०४२) नामक चर्चित हास्यव्यङ्ग्य कृतिका स्रष्टा चोलेश्वर शर्मा पाल्पामा रहेर लामो समयदेखि हास्यव्यङ्ग्य सिर्जनामा सक्रिय हुँदै आउनु भएको छ । गत असार ४ गते शर्माको ‘सगरमाथा एक पहाडको नाम होइन’ हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह लोकार्पण भएको छ । 

फित्कौली अनलाइन मिडियाले हास्यव्यङ्ग्य लेखनमा सक्रिय अन्य चार जना हास्यव्यङ्ग्य स्रष्टालाई पनि पुरस्कृत गर्ने निर्णय गरेको छ । गोविन्द–विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार (०८०) द्वारा स्याङ्जाकी हास्यव्यङ्ग्य लेखिका गायत्री परिरोशनीलाई पुरस्कृत गरिने भएको छ भने ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार (०८०)’ झापाका हास्यव्यङ्ग्य कवि खगेन्द्र नेउपानेलाई प्रदान गरिने भएको छ ।

त्यसै गरी ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय निबन्ध पुरस्कार (०८०)’ गुल्मीका हास्यव्यङ्ग्य निबन्धकार काशीनाथ मिश्रितलाई प्रदान गरिँदै छ भने ‘मुकुन्द–मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार (०८०)’ भक्तपुरका रामशरण न्यौपानेलाई प्रदान गरिने भएको छ ।  

हास्यव्यङ्ग्यकार चोलेश्वर शर्मालाई नगद रु २० हजार १ सहित सम्मान पत्र प्रदान गरिने छ भने अन्य चार जना स्रष्टाहरूलाई रु. १५/१५ हजार नगद सहित सम्मानपत्र प्रदान गरिने छ । 

त्यसै गरि फित्कौली पत्रिकाको आरम्भकालदेखि अहिलेसम्म नै व्यङ्ग्यचित्र (कार्टुन) बनाएर विशेष योगदान पु¥याउँदै आउनु भएका कार्टुनिष्ट राजेश मानन्धरलाई फित्कौलीको प्रोत्साहन पुरस्कार स्वरुप नगद रु. १० हजार प्रदान गरिने छ । 

फित्कौलीले यसै वर्षदेखि प्रदान गर्न थालेका उपर्युक्त सम्मान तथा पुरस्कार मध्ये हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार र निबन्ध पुरस्कार चाहिँ वर्षभरि फित्कौली डटकममा प्रकाशित हास्यव्यङ्ग्य कविता र हास्यव्यङ्ग्य निबन्धहरू मध्ये उत्कृष्ट छनौटमा परेका रचनाका स्रष्टालाई प्रदान गरिने पुरस्कार हुन् । यी द्वय पुरस्कारका लागि रचना प्रथमपटक फित्कौली डटकममै प्रविष्ट गरिएको हुनु पर्ने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि