लघुकथा- 'मरेर जाँदा'
एल.बी.राई।दमक,झापा।
--------------------------------
मानवीरको मृत्यूमा उसको छिमेकी साथी धने धेरै दुःखी भयो त्यो दिन।ज्यूँदाको जन्ती र मर्दाको मलामी जानु छिमेकीको कर्तव्य हो।सोही अनुसार धने पनि मलामी गयो।चिता जलिरहेको थियो।हरे दैव!मान्छेको जिन्दगी पनि के रहेछ र आखिर!बाँच्दाखेरि किन लोभ,पाप र लडाइँ झगडा गर्नु? भन्ने सोँच्दै धने एकाग्र भयो।मूर्दा जलेर खरानी भयो।चितास्थलका अवशेषहरू पखालियो।हिजोसम्म मानवीरले तेरा मेरा आफ्ना अर्का घर परिवार श्री सम्पत्ति भनेको चीजहरूको स्वामित्व पनि शरिरसँगै निमेष भरमा सिद्धियो।
https://youtu.be/8H7lPna7Uls
सबै मलामीहरू घर फर्कन थाले।उसैगरी धने पनि फर्क्यो।घर फर्कँदै गर्दा बाटोमा धानको बाला झुलिरहेको कसैको टारी खेत देख्दा त्यो दिनको घटना पुरै भुलेर धनेले सोँच्यो- 'यदि यो खेत मेरो भइदिएको भए!' अनि घर पुग्ने बेलामा आफ्नो बारीको साँध हेर्दा उसले देख्यो- साँधमा रोपेको बाँस सँधियारले उखालेर फाल्दिएछ।उसलाई खुब रीस उठ्यो र सँधियारतर्फ जाई लाग्यो।वादविवाद हुँदाहुँदै हातै हालाहाल भयो।धन्न त्यति नै बेला अरू आइपुगे र छुट्याए।त्यसपछि एक पाकाले भने- "ए केटा हो!आज छिमेकी मरेको पनि भुल्यौ हैन?के को लागि लड्दैछौ?खै!मरेर जाँदा मानवीरले के लग्यो?"
~~~~~~~~~~~~~~
What's Your Reaction?