कालीमाया-रिना हत्या प्रकरणः न्यायका लागि काठमाडौंमा भौतारिँदै तारामान

Feb 19, 2024 - 20:57
 0  2
कालीमाया-रिना हत्या प्रकरणः न्यायका लागि काठमाडौंमा भौतारिँदै तारामान

फागुन ७, काठमाडौं, काव्य घर । रुकुम (पूर्व) पुथा उत्तरगङ्गा गाउँपालिका–३ का तारामान बुढामगर यतिबेला संघीय राजधानी काठमाडौंमा भौतारिरहेका छन् । उनी आफ्नी निर्दोष नाबालक छोरीहरुको आत्मको शान्तिका लागि ऋण काढेर न्याय खोज्न काठमाडौं आएका हुन् । गत २०७९ चैत २२ गते उनका लागि कालो दिन भयो । तारामानले आफ्नी छोरीहरु ८ वर्षीय कालिमाया बुढामगर र १० वर्षीय रिना बुढामगरलाई गुमाउन पर्यो । कालीमाया र रिनाको विभत्स हत्या भयो ।

कालीमाया र रिनाको हत्या अभियोगमा १३ वर्षीय सुस्मिता बुढामगर र ११ वर्षीय आकांक्षा बुढामगरलाई प्रहरीले नियन्त्रणमा लियो । उनीहरुलाई केरकार गर्यो, सुस्मिता र आकांक्षाले हत्या अभियोग स्वीकार गरे । सुस्मिता र आकांक्षा नाबालिका भएकाले उनीहरुलाई ६ महिना सुधार गृहमा राखेर छाडियो । सुस्मिता र आकांक्षाले सुधार गृहमा रहँदानै घरमा चिठी पठाए । उनीहरुले कालीमाया र रिनाको हत्या आफूहरुले नगरेको ब्यहोरा उल्लेख गर्दै हत्यामा संलग्नहरुको नामसमेत खुलासा गरे । अहिले पनि सुस्मिता र आकांक्षाले आफूहरु निर्दोष रहेको र वास्तविक दोषीहरु कर्मटेक बुढामगर, विक्रम बुढामगर र दयालु बुढामगर भएको बताइरहेका छन् ।

कालीमाया–रिना हत्याकाण्डः वास्तविक दोषीलाई उन्मुक्ति दिएर आकांक्षा र सुस्मितालाई फसाइएको बाबु तारामानको आरोप भिडिओ सहित

सुस्मिता र आकांक्षाले वास्तविक दोषी भनेका व्यक्तिहरु खुलेआम हिँडि रहेका छन् । तारामानले दिएको किटानी जाहेरी प्रहरीले लिनसमेत मानिरहेको छैन । यस्तो अवस्थामा तारामान मानव अधिकार आयोग र प्रहरी प्रशासनलाई गुहार गर्न काठमाडौं आएका हुन् । तर, अहिलेसम्म उनले दिएको उजुरी न मानव अधिकार आयोगले दर्ता गरेको छ रु न त गृह प्रशासनले ? उनी केही दिनअघि काठमाडौं आएका हुन् । उनी अहिलेसम्म मानव अधिकार आयोग, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायतको निकायहरुमा पुगिसके । तर, उनले सबै निकायबाट आश्वासन बाहेक केही पाएका छैनन् ।

कालीमाया–रिना हत्या प्रकरणमा दोषी ठहरिएका दुई नाबालिकामध्ये सुस्मिताका बुबाआमा दुवै बोल्न नसक्ने अशक्त हुन् । उनीहरुको पाँच बहिनीमध्ये सुस्मिता कान्छी हुन् । घरको आर्थिक अवस्था एकदमै दयनीय छ । आकांक्षाको पनि पारिवारिक अवस्था उस्तै रहेको छ । बाबुआमाको साथमै रहेपनि आकांक्षाको परिवार पनि चरम गरिबीमा गुज्रिएको थियो ।

आकांक्षा र सुस्मिताको कमजोर पारिवारिक अवस्थाको फाइदा उठाउँदै उनीहरुलाई दोषी करार गरेर वास्तविक अपराधीलाई उन्मुक्ति दिने काम भएको तारामान बताउँछन् । बाल सुधार गृहमा छ महिना बसेर छुटेका सुस्मिता र आकांक्षालाई चरम गरिबीकै कारण उनीहरुको परिवारले अहिले पनि संरक्षण दिन सकिरहेको छैन । सुस्मिता र आकाक्षा अहिले पनि राजधानीको एक इँटाभट्टामा काम गरेर आफ्नो पेट पालिरहेका छन् ।

साथै, आफूहरुले नगरेको अपराधको सजाय भोग्नुपरेकोमा उनीहरुको बाल मस्तिष्कमा नराम्रो असर परेको छ । विछिप्त अवस्थामा रहेका सुस्मिता र आकांक्षा नयाँ मान्छेहरुसँग बोल्न पनि डराउँछन् । उनीहरुमा आफूहरुलाई फेरी थुन्न पठाइने हो कि भन्ने मानसिक चिन्ता छ । सुस्मिता र आकांक्षाले भनेझैं कालीमाया र रिनाको हत्यारा अरुनै हो भने उनीहरुको मानव अधिकार हनन् भएको छ । छ महिना भक्तपुरस्थित बालसुधार गृहमा बसेर छुटेका सुस्मिता र आकांक्षालाई राज्यले अभिभावकत्व प्रदान गर्न सकेको छैन । उनीहरु एकातिर कालिलै उमेरमा जोखिमपूर्ण शारीरिक श्रम गर्न बाध्य छन् भने अर्कोतर्फ सुरक्षित समेत छैनन् ।

तारामानका अनुसार घटना भएको भोलिपल्ट कालीमाया र रिनाको शव सोही पालिकाको रातो ढुंगा भन्ने भीरमा फेला परेको थियो । लाश फेला परेको ठाउँ घट्ना घटेको भनिएको ठाउँबाट दुई किलोमिटर टाढा पर्ने तारामान बताउँछन् । तारामान १३ वर्षीय सुस्मिता र ११ वर्षीय आकांक्षाले ८ वर्षीय कालिमाया र १० वर्षीय रिनाको हत्या गरी दुई किलो मिटर टाढाको भीरमा लगेर फले भन्ने कुरामा आफूलाई विश्वास नै नरहेको बताउँछन् ।

रिपोर्टर्स समाचार प्रभावः कालीमाया–रिना हत्याकाण्ड संसद्मा प्रवेश, थप अनुसन्धानको माग

कालीमाया–रिना हत्या प्रकरण प्रतिनिधि सभामा समेत प्रवेश गरेको छ । छोरीहरुको आत्मको शान्तिका लागि न्याय पाउने सुनिश्चितता नभइ घर नफर्कने तारामान बताउँछन् । सुस्मिता र आकांक्षाले नाम लिएका कर्मटेक बुढामगर, विक्रम बुढामगर र दयालु बुढामगरलाई नियन्त्रणमा लिएर उक्त घटनाको सुरुदेखि नै छानविन हुनुपर्ने तारामानको माग छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि