पोखराको सूर्य दर्शन सहकारी ठगी गर्ने महेन्द्र भोटे थुनामा  

Jan 3, 2024 - 12:58
Jan 3, 2024 - 13:01
 0  15
पोखराको सूर्य दर्शन सहकारी ठगी गर्ने महेन्द्र भोटे थुनामा  



पौष १८, कास्की, काव्य घर । पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार महेन्द्र र भविश्वर मंगलबार अदालतमा उपस्थित भएका थिए ।

मंगलबार बयान गराएर बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा पठठाउने आदेश दिएको हो ।


पोखरामा गितेन्द्र (जीबी) राईको समूहले खोलेको सूर्यदर्शन सहकारी मार्फत बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा जीबी, महेन्द्र भोटेसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेको भोलिपल्टै भदौ २५ गते पक्राउ परेका सूर्य दर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामै छन् । गत शुक्रबार काठमाडौंबाट पक्राउ परेको सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई पनि सोमबार अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।


सहकारीका पूर्व अध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ अझै फरार छन् । लेखा अधिकृत सृष्टि मानन्धर, लोन अधिकृत बुद्धि गुरुङ पक्राउ पुर्जी जारी भएपछि फरार छन् ।


भविश्वरको ठूलो कारोबार नदेखिएपछि शिवबहादुर (महेन्द्र)ले कर्मचारी पेश्कीका नाममा करिब ५ करोड रुपैयाँ र सहकारीको भवन समेत उनकै नाममा रहेको खुलेको छ ।

महेन्द्र अहिले एमाले निकट युवा संघका उपमहासिचव हुन् भने गत स्थानीय तहको निर्वाचनमा मादी गाउँपालिकाबाट अध्यक्ष पराजित भएका थिए । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीति र व्यवसायमा छिरेका महेन्द्रले पछिल्लो समय राजनीति र व्यवसायलाई सँगसँगै लगिरहेका थिए ।

महेन्द्रले पोखरामा ओेजन डिस्कोपछि ट्रेजर बार हुँदै होटल र रेस्टुरेन्टमासमेत लगानी गरेका छन् । महेन्द्र पोखराको चर्चित ग्रुप लालिगुराँस (एलजी ग्रुप)मार्फत गुण्डागर्दीमा सक्रिय थिए । उनलाई प्रहरीले मस्ट वान्टेड सूचीमा समेत राखेको थियो ।

युवा संघको तत्कालीन अञ्चल कमिटी हुँदै केन्द्रीय सहमहामन्त्री बनेका महेन्द्रलाई एमालेका नेताहरुको साथ छ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीदेखि महेश बस्नेत, राजीव पहारीसम्मको संरक्षण पाएका महेन्द्रलाई पक्राउ पुर्जी जारी नगर्न युवा संघका नेता बस्नेत नै पोखरा आएका थिए ।

उनले कास्की प्रहरी प्रमुख एसपीलाईसमेत भेट गरी सहजीकरण गरिदिन भनेका थिए तर प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि महेन्द्र फरार थिए । उनलाई एमालेकै नेताहरुले लुकाएको बचतकर्ताहरुले आरोप लगाए पनि कास्की प्रहरी प्रमुख एसपी थापाले भने उनी फरार भएर भारतबाट लुक्दै कास्की आएर उपस्थित भएको बताए ।

२०७१ फाुग २२ गते जिल्ला कास्की पोखरा ६ लेकसाइडस्थित महेन्द्र भोटे आफैंले सञ्चालन गरेको ओजन कम्प्लेक्स एण्ड डान्स बारमा झै झगडा कुटपिट भएको थियो । सोही क्रममा डियुटीमा खटिएका प्रहरी जवान भीमबहादुर रानामाथि टाउकोमा रड प्रहार गरी घाइते भएको प्रहरीले नै उपलब्ध गराएको सूचनामा छ ।

त्यतिबेला बाउन्सरलाई ज्यान मार्ने उद्योगमा मुद्धा चलेको थियो भने डान्स बार सञ्चालक भोटेलाई सार्वजनिक अपराध मुद्धामा केही दिन हिरासत बसेपछि छुटेका थिए । जीवी समूह पोखरा आएदेखि नै उनीहरुको उठबस सुरु भएर व्यावसायिक साझेदारी सुरु गरेका उनीनिकटहरु बताउँछन् ।

जिल्ला अदातलमा दर्ता भएको मुद्धामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालाई दिलाउन माग गरिएको छ । सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सहकारी ठगी मुद्दामा १९ जनालाई प्रतिवादी बनाइएको छ । सहकारी ऐनको दफा १२२ (घ), (ङ), (च), (छ), (ज) र (त) अनुसारको कसूरमा दफा १२४ (घ) र घ (६) अनुसार बिगो बमोजिम जरिवाना र ८ देखि वर्ष कैद सजायको माग गरिएको छ ।

सूर्यदर्शनबाट जीबी समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी खडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा छ ।

सहकारीका सञ्चालक तथा पदाधिकारीले कृतिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पति नराखी व्यक्तिको नाममा गरेको देखिएको छ । प्रहरीले गत साउन ३२ गते सूचना जारी गरी भदौ १५ गतेसम्म १ हजार ३६ जना बचतकर्ताले उनीहरुविरुद्ध जाहेरी दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि